कर्णालीमा थप ५०३ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

Corona death1

कर्णाली । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३६, ४२ र ७३ वर्षीय पुरुष, लेकबेँसी नगरपालिका–५ का ३८ र छत्रेश्वरी गाउँपालिका–६ सल्यानका ६५ वर्षीया महिला रहेका छन् । उनीहरू सबैको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

त्यस्तै, जिल्ला अस्पताल सल्यानमा शारदा नगरपालिका–१ का ६७ वर्षीय पुरुष र जिल्ला अस्पताल दैलेखमा भैरवी गाउँपालिका–४ दैलेखका ४६ वर्षीय पुरुषको मृत्यु भएको डा. खड्काले बताए । भेरी नगरपालिका–४ जाजरकोटका ४५ वर्षीया महिलालाई नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ । यससँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । डा. खड्काका अनुसार पछिल्लो २४ घण्टामा ६१८ जनाको पिसिआर परीक्षणबाट ४०० र २६० जनाको एन्टिजेन परीक्षण गरिएकामा १०३ गरी जम्मा ५०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कर्णालीमा हालसम्म नौ हजार ९८० जनामा सङ्क्रमण पुष्टि भएकामा सात हजार ७४८ (७८ प्रतिशत) सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । हाल दुई हजार ८८७ जना आइसोलेशनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस