भरिए काठमाडौं उपत्यकाभित्रका कोभिड बेड, सुरक्षित रहन मन्त्रालयको बिशेष अपिल

निजामती कर्मचारी अस्पतालमा ६ वटा वेड क्षमताको भेन्टिलेटर मात्रै खाली

Covid hospital bed

काठमाडौं । कोभिड–१९ संक्रमितको उपचार गर्ने उपत्यकाका अधिकांश सरकारी अस्पतालको बेड भरिएपछि सरकार अतालिन थालेको छ । अस्पतालका बेड खाली नभएपछि नागरिकलाई सुरक्षित रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिशेष अपिल नै जारी गरेको छ ।

कोरोना संक्रमण ह्वात्तै बढ्न थालेपछि सरकार आत्तिन थालेको छ । सरकारले नेपालमा कोरोना संक्रमितको संख्या दर बढ्दो अवस्थामा रहेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपिल जारी गरी अस्पतालमा शैयासमेत भरिएका कारण आम नागरिकलाई सुरक्षित रहन बिशेष अपिलसमेत गरेको छ ।

अस्पतालहरुले जटिल अवस्थामा पुगेका अथवा अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई प्राथमिकता दिई भर्ना लिने गरेका छन् । कुनै पनि बिरामीले अगाडि नै फोन गरेर बेड बुक गर्ने अवस्था नरहेको डाक्टरहरुको भनाइ छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा संक्रमितको उपचार गर्न जम्मा ११३ बेड छन् । अस्पतालमा अहिले १०९ जना संक्रमित उपचार गराइरहेका छन् । जसमध्ये २१ जना आईसीयूमा, ५ जना भेन्टिलेटरमा उपचाररत र बाँकी सामान्य वार्डमा उपचार गराइरहेका छन् ।

सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा संक्रमितको उपचारका लागि १४० बेड छ । अहिले बलम्बुमा २० वटा आईसीयूमा १९ जना र ८ भेन्टिलेटरमा सबैमा बिरामी छन् । अरु बेडमा रहेका ७५ प्रतिशत बिरामी अक्सिजन दिनुपर्ने अवस्थाका छन् ।

वीर अस्पतालको संक्रमितको उपचारका लागि ९६ वटा बेड छ । यहाँ उपचाररत ५७ जनामध्ये आईसीयूमा ८ जना र भेन्टिलेटरमा दुई जना छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० बेड सञ्चालनमा छन् । अहिले यहाँ उपचाररत ५४ जनामध्ये १२ जना भेन्टिलेटरमा, २२ आईसीयूमा, ४ जना स्पेसल आईसीयूमा, ७ जना नर्मल बेडमा र ९ जना आकस्मिक कक्षमा उपचाररत छन् ।

पाटन अस्पतालमा संक्रमितको उपचारका लागि १९० वेड क्षमतामध्ये १४२ जना उपचाररत छन् । तीमध्ये आईसीयूमा १९ जना, भेन्टिलेटमा ११ जना, एचडी मनिटरसहितको बेडमा १० जना र एचडीयूमा २५ जना र वार्डमा ७७ जना उपचाररत छन् ।

नयाँ बानेश्वरको निजामती कर्मचारी अस्पतालमा ५० वटा बेडमध्ये अहिले २८ जना संक्रमितको उपचार भइरहेको छ । १४ बेड क्षमताको आईसीयू भरिएको छ । ६ वटा वेड क्षमताको भेन्टिलेटर भने खाली छ । यहाँ १४ जना अक्सिजनको सहायतामा उपचाररत छन् ।

भक्तपुर अस्पताल भक्तपुरमा ६८ बेडमध्ये ३० जना कोरोना संक्रमित उपचारत छन् । तीमध्ये ६ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा छन् । नर्मल बेडमा भएका १८ जनामध्ये केहीबाहेक सबै अक्सिजनको सपोर्टमा उपचाररत छन् । आईसीयू र भेन्टिलेटर बेड भने भरिएका छन् ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा अहिले १२० जना उपचाररत रहेका छन् । १२५ वेड क्षमता भएको केन्द्रमा १० जना अक्सिजनको सहायता लिनुपर्ने र अरु सामान्य लक्षण सहितका र लक्षण नदेखिएका संक्रमित रहेका छन् ।

राजधानीकै असपतालहरुमा बेडको अभाव भएपछि मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्धारा जारी अपिलमा संक्रमणको रोकथामका लागि सबैलाई जनस्वास्थ्य मापदण्डहरु कडाईका साथ पालना गर्न अनुरोध गरिएको छ । यस्तै कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा नगर्नु नगराउन हुन पनि अपिल गरिएको छ ।

प्रतिकृया दिनुहोस