कोरोना संक्रमितको हब बन्दै काठमाडौं उपत्यका, आधाभन्दा बढी संक्रमित काठमाडौं कै

Kathmandu valley

काठमाडौं । पछिल्लो समयमा देशकै संघीय राजधानी काठमाडौं उपत्यका कोरोना संक्रमितहरुको हब बनेको छ । काठमाडौं उपत्यका दिनको दुई गुना र रातको चौगुना संक्रमित बढिरहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा धेरै २ हजार ४०४ जना, ललितपुरमा ४१९ जना र भक्तपुरमा १३३ गरी २ हजार ९ सय ५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ३३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै मृतकको कुल संख्या ३ हजार २८९ पुगेको छ ।

रुपन्देही ४७३ जना, बाँकेमा ४२२ जना, ललितपुरमा ४१९ जना, दाङमा २५२ जना, मोरङमा १६१ जना, पर्सामा १५३ जना, चितवनमा १११ जना कोरोना स्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमा पनि काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५ हजार ६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै ९ वर्ष मुनिका १३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका ३६७ बालबालिका कोरोना पोजिटिभ देखिएका छन् ।

सक्रिय संक्रमितमध्ये ३६ हजार १३५ जना होम आइसोलेसन र दुई हजार ६७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना भाइरस संक्रमितमध्ये ३३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रतिकृया दिनुहोस