कोरोना संक्रमितको ग्राफ बढेको बढ्यै, केही दिनमा अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने सरकारी चिन्ता

Corona graff

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या आँकलन गरेभन्दा बाहिर जान थालेपछि सरकारी निकाय आत्तिन थालेको छ । कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि सरकारले सार्वजनिक स्थलमा हुने कार्यक्रममा सहभागी नहुन आह्वान नै गरेको छ ।

यही तरिकाले कोरोना संक्रमण बढे केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँको अभाव हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको विज्ञप्ति अनुसार कोरोना संक्रमण बढ्दा यसको चक्र रोक्न नसके केही दिनमा अस्पतालमा बिरामी राख्ने बेडसमेत खाली नहुने भन्दै सतर्क रहन आग्रह गरेको हो ।

सरकारले कोरोना संक्रमणको जोखिम थप बढ्दै गएकोले सार्वजनिक समारोह र सार्वजनिक स्थलमा हुने कार्यक्रममा सहभागी नहुन आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो ।

सार्वजनिक सूचनामा मन्त्रालयले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बन्न, सार्वजनिक समारोहहरु र सार्वजनिक स्थलमा हुने कार्यक्रमहरु नगर्न, नगराउन र सहभागी नहुन आह्वान गरेको छ । त्यस्ता व्यक्ति र निकायहरुबाट त्यस किसिमका गतिविधिहरु भएमा खबरदारीसहित कारवाहीको दायरामा ल्याइदिएर सहयोग गर्न समेत मन्त्रालयले आह्वान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको अहिलेको चक्रलाई रोक्न नसके केही दिनमा अस्पतालमा बिरामी राख्ने ठाउँ पनि नहुने चेतावनी दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गरी कोरोना संक्रमण र उपचारको दुखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेको दावी गर्नु भएको छ ।
यही गतिमा संक्रमण फैलँदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने नहुने चेतावनी दिँदे मन्त्रालयले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि विचलित हुन नदिन आग्रह पनि गरेका छ ।

कोरोना संक्रमण रोकथामकालागि सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नु निर्विकल्प उपाय भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाको तथ्यांकलाई मात्रै हेर्ने हो भने नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

शनिबार थप २६१८ जनामा कोरोना पुष्टि भएको थियो । शनिबार काठमाडौँका ६४४, ललितपुरका १४१ तथा भक्तपुरका ८७ जनामा संक्रमण पुष्टि भएको थियो । तर, सो संख्या बढेर आइतबार संक्रमितको संख्या १४ सय ९८ जना पुगेको छ । देशभर २५२ जनाको आइसियु तथा ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस