भारतबाट फर्किनेमा दिनहुँ कोरोना सङ्क्रमणः क्वारेन्टिन नबस्नेलाई कारवाही  

Coronaa

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो ।

परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उहाँलाई महाकाली अस्पातल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

उता कञ्चनपुरको पुर्वी गौरीफन्टा नाकामा आज बिहान मात्रै भारतको पञ्जाव र पुनाबाट आएका चार जनामा सङ्क्रमण देखिएको छ । गौरीफन्टा नाकामा कोरोना परीक्षणमा खटिएका यहाँको पुर्नबास नगरपालिकाका स्वास्थ्य शाखाका अहेव गणेश साउदले कैलालीको टीकापुरका दुई र डोटीका दुई जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

“यस नाकाबाट दैनिक ५०० देखि ७०० सम्म नेपाली भारतबाट फर्किरहेका छन् ।” अहेव साउदले रासससित भन्नुभयो, “सीमामा परीक्षण गर्दा हरेक दिनजसो कोरोना पोजेटिभ देखिएको छ ।” उहाँले बुधबार सोही नाकामा परीक्षण गर्दा आठ र मङ्गलबार पाँच जनामा कोरोना देखिएको बताउनुभयो । “एक साताको विवरण हेर्दा २० जनामा सङ्क्रमण देखिएको छ”, उहाँले भन्नुभयो, “भारतमा सङ्क्रमित क्षेत्रबाट आइरहेका नेपालीहरूमा यहाँ सङ्क्रमण देखिन थालेको छ ।”

गड्डाचौकी प्रहरीका अनुसार पछिल्लो समय भारतका विभिन्न शहरमा कोरोनाको सङ्क्रमण बढिरहेसँगै मजदुरीका लागि भारत गएकाहरु सिमानाबाट फर्किने क्रम बढेको छ । “दैनिक चारदेखि पाँच सय नेपाली गड्डाचौकी नाकाबाट घर फर्किरहेका छन् ।” इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक जीवन गुरुङले भन्नुभयो, “सीमामा स्थानीय प्रशासनले भारतको सङ्क्रमित क्षेत्रबाट आइरहेकाहरूको स्वास्थ्य परीक्षण पनि गरिरहेको छ ।”

कोरोना कहरको अवस्था सामान्य बन्दै गएका बेला भारत जाने क्रम यहाँबाट शुरु भए पनि भारतमा सङ्क्रमण बढ्दा फर्किनेको चाप बढ्न थालेको हो । त्यसैगरी कञ्चनपुर प्रशासनले पनि यहाँ कोरोना सङ्क्रमण बढ्न नदिन स्वास्थ्य सतर्कता कायम गर्न अनुरोध गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भारतका केही राज्यमा कोरोना सङ्क्रमणको दर बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै यस्तो अवस्थालाई मध्यनजर गर्दै प्रशासनले आदेश जारी गरेको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा जारी विज्ञप्तिमा नजिकिँदै गरेको होलीलगायत कुनै मेला, पर्व र भीडभाड नगर्न भनेको छ । प्रशासनले कोरोना सङ्क्रमण बढ्न नदिन सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रहसमेत गरेको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भारतमा कोरोना पुनः फैलिएसँगै यहाँका सीमामा कोरोनाको नमूना परीक्षणका लागि जनशक्ति थप गरिएको बताउनुभयो । “पूर्वी गौरीफन्टा नाकामा सङ्क्रमण बढी देखिएको छ”, उहाँले भन्नुभयो, “त्यहाँ कैलाली र कञ्चनपुरको स्वास्थ्यकर्मीको टोली खटिएको छ ।” गड्डाचौकी नाकामा पछिल्लो समय पाँच जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयले माथिल्लो तहबाट आएको निर्देशनानुसार स्थानीय प्रशासन र पालिकासित समन्वय गरेर अघि बढेको छ । “सीमामै हेल्थ डेस्क राखेर एन्टिजेन परीक्षण भइरहेको छ”, प्रमुख सुनारले भन्नुभयो, “पञ्जाव, गुजरात र महाराष्ट्रलगायतका क्षेत्रबाट आइरहेकामा शङ्कास्पद देखिएको परीक्षण गर्ने गरिएको छ ।”

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...