साग टिप्दा वडाध्यक्षले नै तिराए ५ हजार जरिवाना, अपमान सहन नसकेर महिलाले गरिन् आत्महत्या

Janakpur sucide

जनकपुरधाम । खेतमा साग टिपेर गल्ती गरेको निष्कर्ष निकाल्दै समाजको भेलाले जरिवाना तिर्न लगाएपछि धनुषामा एक महिलाले आत्महत्या गरेको पाइएको छ ।

औरही गाउँपालिका –२ देउरीका रामजीवन यादवकी पत्नी अन्दाजी ३६ वर्षीया विनितादेवीले आत्महत्या गरेकी हुन् । प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमोर्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएर राखेको छ ।

प्रहरीका अनुसार विनितादेवी आफ्नै स्टोर कोठाको पंखामा सलले पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनका श्रीमान् रामजीवन भने वैदेशिक रोजगारका क्रममा खाडी मुलुकमा छन् ।

श्रीमान् घरमा नभएको बेला समाजले गरेको अपमान सहन नसकेर ती महिलाले आत्महत्या गरेको स्थानीयले बताएका छन् । शुक्रबार विनिता र अन्य दुई महिला घाँस काट्न खेत गएका थिए । सोही क्रममा खेतधनी महिलाले साग टिपेको भन्दै उनीहरुलाई कुटपिट गरिन् । कुटिएका उनीसहित तीनै जनाले स्थानीय भद्र–भलादमीलाई सुनाए ।

विवाद समाधान गर्न समाजका अगुवाहरु भेला भए । छलफल भयो । तर न्यायका लागि गुहार मागेका तीनैजना महिलालाई नै अगुवाहरुले दोषी ठहर गरे । विनितालाई ५ हजार र अन्य २ जनालाई २५/२५ सय जरिवाना सुनाइयो ।

गल्ती नगर्दा पनि जरिवाना तिर्न लगाएर अपमान गरेको भन्दै विनिताले आत्महत्या गरेको स्थानीय बताउँछन् । भेलामा वडाध्यक्ष अमित यादव पनि थिए । उनले नै जरिवाना तिर्नुपर्ने निर्णय गरेका थिए ।

प्रतिकृया दिनुहोस