स्वास्थ्यकर्मी भन्छन्–‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’

Corona vaccine 1

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् । गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउनु पर्दा चिन्तित रहेका सर्वसाधारणदेखि स्वास्थ्यकर्मी अहिले खोप उपलब्ध भएपछि उत्साही बनेका हुन् ।

भारतले अनुदानमा दिएको १० लाख डोज खोप माघ १४ देखि बागलुङमा समेत लगाउन थालिएको छ । स्वास्थ्यकर्मी, सफाइ तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलो चरणमा खोप लगाउन थालिएको छ । कोरोनाको निकै जोखिमपूर्ण अवस्थामा परिवारबाट समेत अलग्गै बसेर जनताको सेवामा खटिएका स्वास्थ्यकर्मीले खोप लगाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको प्रतिक्रिया दिएका छन् ।

बागलुङमा पहिलो खोप लगाउने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा.दिवाकर पराजुलीले आफूले खोप लगाएर ढुक्क भएर जनताको सेवामा खटिन पाउँदा खुशी लागेको बताए । “कतिपय स्वास्थ्यकर्मी नै मृत्यु हुनु भएको खबर आउँदा परिवारमा समेत पीडा हुने गरेको थियो”, डा.पराजुलीले भने, “जिल्लामै पहिलोपटक कोरोना खोप लगाउन पाउँदा भाग्यमानी ठानेको छु ।”

धौलागिरि अस्पताल नेपालमै पाँचौँ र छैटौँ कोरोना सङ्क्रमितको उपचार गराउने अस्पतालका रुपमा रहेको छ । पराजुलीले खोप ढुक्क भएर लगाउन अन्य स्वास्थ्यकर्मीलाई समेत अनुरोध गरेका थिए । पहिलो दिनमै बागलुङका ११७ स्वास्थ्यकर्मी र सफाइ कर्मचारीले खोप लगाए । दोस्रो दिन बिहीबार २७८ ले खोप लगाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिनुभयो । गुरौँका अनुसार बागलुङमा एक हजार ९६० डोज खोप आएको छ ।

डा.पराजुलीले जुनसुकै खोपमा पनि सामान्य प्रतिक्रिया देखा पर्ने भन्दै सबैलाई संयमित हुन आग्रहसमेत गरेका थिए । खोपका बारेमा चलाइएका अनावश्यक हल्लामा विश्वास नगर्न आग्रह गर्दै डा.पराजुली खोप सबैसम्म पुर्योउनुपर्ने र आमनागरिकले अब प्रयोग गर्नुपर्ने धारणा राखे।

स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरे खोप लगाउनेको व्यवस्थापनमा खटिएका छन । उनले सबैलाई खोप लगाएपछि अन्तिममा लगाउने बताए । “सेवामा खटिँदा सङ्क्रमित नै भएँ, अहिले स्वयंसेवीलाई खोप लगाउने व्यवस्थापनमा खटिएको छु”, घिमिरेले भने, “यही डोजको अन्तिम खोप लगाउने योजनामा रहेको छु ।” सङ्क्रमित भएरसमेत स्वस्थ भई काममा खटिएको र खोप आउँदा आफू खुशी भएको उनको भनाइ छ ।

आफूले खोप लगाउन पाउँदा निकै खुशी भएको धौलागिरि अस्पतालमा कार्यरत सिनियर अनमी टीकादेवी रिजालले बताए । आफूले बुधबार बिहान कोरोना खोप लगाएलगत्तै सेवामा खटिएको बताए । “पहिले सङक्रमणको भय हुँदाहुँदै सेवामा खटिएको थिएँ”, रिजालले भने, “अब ढुक्क भएर सेवा दिन पाइने भयो ।” खोप लगाउन डराउन नहुने उनको भनाइ रहेको छ ।

यस्तै धौलागिरि अस्पतालका स्वास्थ्यकर्मी प्रदीप आचार्य र निर्मला पौडेलले खोप लगाएर ढुक्कका साथ सेवामा खटिँदा खुशी भएको बताए । अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सफाइ कर्मचारीले खोप लगाएपछि अर्को चरणमा अन्य सर्वसाधारणलाई खोप लगाइने जनाइएको छ । खोप लगाएका कसैमा कुनै समस्या नआएको अस्पतालले प्रष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...