विप्लव समुहको बन्द : मकवानपुरमा बस जलाइयो, बनेपामा नेपाली सेनाद्धारा डिस्पोज

Bus aagolagi

काठमाडौं । नेत्रविक्रम चन्द समुहले गरेको नेपाल बन्दका क्रममा ठाउँठाउँमा आगजनी भएको छ । काभ्रेको बनेपामा बम राखेको छ भने मकवानपुरमा एउटा बसमा आगो लगाएका छन् ।

विप्लव समूहले आाफ्ना केन्द्रीय समिति सचिवालयका कञ्चनलाई पक्राउ गरेको विरोधमा आज नेपाल बन्दको घोषणा आह्वान गरेको हो ।

सो समुहले मकवानपुरको इन्द्रसरोवार गाउँपालिका–४ मा अज्ञात मानिसको समूहले गाडीमा आगजनी गरेको छ । हेटौंडाबाट काठमाडौंका लागि छुटेको बा१३च७९६९ नम्बरको बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार बिहान २ बजेतिर १० जनाको समूहमा आएकाहरुले चालकलाई गाडीबाट ओरालेर बसमा आगो लगाएको प्रहरीले जनाएको छ । आगजनी गर्ने समूह नेकपा विप्लव समूहका कार्यकर्ता रहेको शंका गरिएको छ ।

यता, काभ्रेपलाञ्चोकको बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज गरिएको छ । बनेपाको बुडोलस्थित सडकमा राखिएको प्रेसर कुकर बम डिस्पोज गरिएको प्रहरीले जनाएको छ ।

उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले फेला पारी डिस्पोज गरेको हो । प्रहरीले बिहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्णरुपमा ठप्प पारेर बम खोज्ने कार्य सुरु गरेको थियो ।

बिहान ३ बजेदेखि ठप्प रहेको राजमार्ग बम डिस्पोज भएपछि पुनः सञ्चालनमा आएको प्रहरीले जानकारी दिए । अन्य स्थानमा पनि बम राखिएको हुनसक्ने तर बाक्लो हुस्सु लागेको कारण खोज्न कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस