भरतपुर अस्पतालमा आँखाको उपचार सेवा शुरु

Received

काठमाडौँ । भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै सो सेवा शुरु गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिवारीले संयुक्त रुपमा विभागको शुभारम्भ गरेका हुन् । 

सो अवसरमा अध्यक्ष डा.अधिकारीले अन्य रोगको उपचार हुँदै गर्दा आँखाको उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता अब हटेको बताए । राजधानी बाहिरको सुविधा सम्पन्न अस्पतालको रुपमा भरतपुर अस्पताल अघि बढेको भन्दै उहाँले सङ्घीय अस्पताल भएकाले यस अस्पतालको जिम्मेवारी बढी भएको बताए ।

निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.तिवारीले मधुमेह, उच्च रक्तचापलगायतका बिरामीको आँखाको सामान्य उपचारका लागि बिरामी बाहिर जानुपर्ने बाध्यता हटेको बताए । उनले भने, “अहिले साधारण सेवाबाट शुरु गर्छौं, पछि विशिष्ट सेवा दिन्छौं ।”

हाल शल्यक्रिया बाहेक सबै सेवा उपलब्ध हुने उनले बताए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार विभागमा दुई जना विशेषज्ञ चिकित्सकसहित प्राविधिक समूह रहेको छ । पौडेलले अस्पतालको १३औँ विभागको रुपमा आँखा विभाग स्थापना भएको बताए । 

यस अस्पतालमा चितवनसहित आसपासका १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । प्रसूति सेवाका लागि राजधानी बाहिरको उत्कृष्ठ अस्पतालको रुपमा भरतपुर अस्पताललाई लिने गरिन्छ ।

प्रतिकृया दिनुहोस