चितवनको चार गाउँपालिकामा आयुर्वेदिक आरोग्य सेवा केन्द्र विस्तार

Chitwan 3

काठमाडौँ । जिल्लाका चार पालिकामा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना कार्य शुरु भएको छ । हालसम्म दुई वटा केन्द्र सञ्चालनमा आएका छन् भने थप दुई वटा सञ्चालनको तयारीमा छन् ।

जिल्ला आयुर्वेद कार्यालय रत्ननगरका प्रमुख डा.कोपिला अधिकारीका अनुसार भरतपुर महानगरपालिका–१४ स्थित शिवनगर र खैरहनी नगरपालिका–१२ स्थित कुमरोजमा केन्द्र सञ्चालनमा आइसकेका छन् । शनिबारबाट कालिका नगरपालिका–७ सगुनटोलमा सेवा केन्द्र सञ्चालनमा ल्याइने छ । केही दिनमै इच्छाकामना गाउँपालिकामा केन्द्र सञ्चालनमा आउने उनले जानकारी दिइन् ।

उनका अनुसार एउटा केन्द्रमा एक जना वैद्य र एक जना थेरापीसम्बन्धी प्राविधिक रहने व्यवस्था गरिएको छ । केन्द्रले स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधिसँगै तनाव व्यवस्थापन, जीवनशैली व्यवस्थापन, दुखाइको व्यवस्थापनजस्ता सेवा निःशुल्क दिनेछन् । त्यसैगरी योगप्रणायम गराइने उनले जानकारी दिइन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवन र यसका मातहतमा आठवटा औषधालयले जिल्लामा सेवा दिइरहेका छन् । प्रमुख अधिकारीले अहिले सङ्घीय सरकारले देशभरका सबै पालिकामा एक/एक वटा आयुर्वेदसँग सम्बन्धित अस्पताल बनाउने नीतिअनुसार नभएका पालिकामा थप गरिएको हो ।

जिल्लाको कालिका, खैरहनी र इच्छाकामनामा आयुर्वेदसम्बन्धी अस्पताल छैनन् । भरतपुर महानगरपालिका ठूलो भएकाले आयुर्वेदिक औषधालय भए पनि यहाँ केन्द्र थप गरिएको हो । यिनै केन्द्रलाई विस्तार गरी अस्पतालको रुपमा विकास गर्ने योजना सरकारको छ ।

जिल्लामा गत वर्ष केन्द्र र औषधालयबाट ३० हजारले सेवा लिएका थिए । अधिकारीका अनुसार वाग्मती प्रदेशमा यो सबैभन्दा बढी हो । यी स्थानबाट एक वर्षमा रु ६० लाख हाराहारीको औषधि निःशुल्क वितरण गरिँदै आएको छ । बिरामीको आकर्षण बढी भए पनि दक्ष जनशक्ति भने कम रहेको छ । जिल्ला कार्यालय रहेको केन्द्रमा एक जना चिकित्सक दरबन्दी छ भने अन्य औषधालयमा कविराज, वैद्य र प्राविधिकको भरमा सञ्चालन गरिँदै आएको छ ।

प्रतिकृया दिनुहोस