नेपालमा विश्वकै सबैभन्दा बढी कोरोना संक्रमित निको

विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा ९४.२ प्रतिशत पुग्यो

Corona

काठमाडौँ । नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ ।

विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३०० सङ्क्रमित भएका अवस्थामा चार करोड ८० लाख नौ हजार ४३७ जना निको भएका छन् । बिहीबारसम्मको तथ्याङ्कानुसार नेपालमा दुई  लाख ४५ हजार ६५० सङ्क्रमितमध्ये दुई लाख ३१ हजार ६०१ जना निको भई घर फर्किसकेका छन् । 

नेपालमा कुनै समय ६०–६२ प्रतिशत मात्र कोभिड–१९ का सङ्क्रमित निको भएकामा अहिले  ९४  भन्दा बढी प्र्रतिशत पुगेको छ । विगत दुई महिनाको तथ्याङ्क हेर्दा निको हुने दर ६८ प्रतिशतबाट बढेको देखिन्छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा सङ्क्रमितको उपचार सेवा राम्रो भएकाले निको दर बढेको बताए । अहिले उपचार सेवा पनि राम्रो भएको छ”, उनले भने, “त्यसैले सङ्क्रमितको निको हुने दर पनि बढेको हो ।”

गत असोज २८ गते ६८.८ प्रतिशत सङ्क्रमित निको भएका छन् । यस्तै कात्तिक ९ गते ७०.६, कात्तिक १६ गते ७७.६ र कात्तिक २६ गते ८० प्रतिशत सङ्क्रमित निको भई घर फर्केका थिए । यही मङ्सिर १९ गतेदेखिको तथ्याङ्क हेर्दा पनि सङ्क्रमित दर बढेको पाइन्छ ।

मङ्सिर १९ गते ९२.९, २० गते ९३.४, २१ गते ९३.७, २२ गते ९४, २३ गते ९४.१ र  २४ गते ९४.३ प्रतिशत सङ्क्रमित निको भएका छन् ।  बिहीबार मात्र मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार ९४.२ प्रतिशत सङ्क्रमित निको भएका छन् । सो दिन एक हजार ६४ जना निको भई घर फर्किएका थिए । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका  निर्देशक डा.सागरराज भण्डारीले उपचार पद्धति अन्य मुलुकको जस्तो भएपनि अहिले लक्षण नभएका सङ्क्रमित घरमै बसेर निको हुने गरेको बताए । उनले परीक्षण नै कम भएकाले सङ्क्रमित पनि कम हुने भएकाले  निको हुने दर बढेको जिकिर गरे ।

प्रतिकृया दिनुहोस