बेलायतमा एक दिनमै ३३ भन्दा हजार बढी संक्रमित

Birayat

एजेन्सी । बेलायतमा कोरोना संक्रमितको संख्या महामारी शुरु भएयताकै सबैभन्दा बढी भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । पछिल्लो २४ घन्टामा ३३ हजार ४७० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । बुधबार संक्रमित संख्या २२ हजार ९५० रहेकोमा आज करिब दश हजार बढी अर्थात ४५।८ प्रतिशत संक्रमित थपिएर संक्रमित संख्या एकैदिनमा ३३ हजार नाघेको हो । यो संख्या बेलायतमा महामारीपछिकै सबैभन्दा उच्च भएको स्वास्थ्य विभागले जनाएको छ ।

यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १२ लाख ९० हजार १९५ पुगेको छ । इंग्ल्याण्डमा चार हप्ता लामो लकडाउन लागू गरेको एक हप्तापछि संक्रमितको संख्या अत्यधिक मात्रामा बढेको हो । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले कम्तिमा डिसेम्बर २ तारिख सम्मका लागि इंग्ल्याण्डमा लकडाउन गरेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप ५६३ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार ९२८ पुगेको छ ।

हिजो बुधबार बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको थियो । कोरोनाका कारण ५० हजार भन्दा बढी मृत्यु हुने युरिपियाँ मुलुकमा बेलायत पहिलो मुलुक बनेको छ । यसैगरी विश्वभर सबै भन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका, ब्राजिल, भारत र मेक्सिकोपछि बेलायत पाँचौं स्थानमा रहेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ६६८ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार २६८ जनाको भेन्टिलेतर बेडमा उपचार भैरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ३० जनाको हस्पिटलमा उपचार भैरहेको छ ।

प्रतिकृया दिनुहोस