कोरोनाका गम्भीर बिरामीको संख्या दिनदिनै बढ्दै

Corona2020 11 04 05 14 48

काठमाडौँ । कोरोना संक्रमित गम्भीर बिरामीको संख्या दिनदिनै बढ्दै छ । १५ दिनअगाडि अर्थात् १० कात्तिकमा आइसियू–भेन्टिलेटरमा उपचार गराउने संक्रमितको संख्या तीन सय ४९ थियो । सोमबार यो संख्या चार सय ९४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सोमबार देशभरका आइसियूमा चार सय ११ संक्रमितको उपचार भइरहेको छ । त्यस्तै, ८३ जना भेन्टिलेटरमा छन् । यो संख्या अघिल्लो दिनको तुलनामा १३ जना बढी हो ।

आइतबार आइसियूमा तीन सय ९८ र भेन्टिलेटरमा ८२ संक्रमित उपचाररत थिए । त्यस्तै, शनिबार आइसियूमा तीन सय ६५ र भेन्टिलेटरमा ७६ जना उपचाररत थिए । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण समुदायस्तरसम्म फैलिँदै गएपछि गम्भीर बिरामी पनि थपिँदै गएको बताए ।

‘विगतमा संक्रमण समुदायस्तरसम्म नपुग्दा आइसियू–भेन्टिलेटरमा पुग्नेहरूको संख्या कम थियो । तर, अहिले भाइरस समुदायमा तीव्र गतिमा फैलिएको छ,’ उनले भने, ‘यसअघि वृद्धवृद्धामा नपुगेको भाइरस अहिले पुगेको छ । यसले गर्दा कोरोनाबाट हुने मृत्युसँगै आइसियू–भेन्टिलेटरमा पुग्नेहरूको संख्या पनि दैनिक बढ्ने क्रममा छ । मृत्यु भएकाहरूको संख्या हेर्दा धेरैजसो वृद्धवृद्धाहरू नै छन् ।’

डा। अधिकारीका अनुसार अब जाडोमा दीर्घरोगीहरूलाई कोरोना भाइरसले थप समस्या ल्याउनेछ । ‘यो जाडोमा आइसियू–भेन्टिलेटरमा पुग्नेको संख्या बढ्ने मात्रै होइन, मृत्यु हुनेको संख्या पनि बढ्ने अनुमान छ । त्यसैले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनु उचित हुन्छ,’ उनले भने ।

सघन उपचार कक्षमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ । यहाँ दुई सय चारजना आइसियू र ५२ जना भेन्टिलेटरमा छन् । त्यस्तै, प्रदेश १ मा ४९ जना आइसियू र १३ जना भेन्टिलेटरमा, लुम्बिनीमा ५४ जना आइसियू र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा आठजना आइसियू र दुईजना भेन्टिलेटरमा छन् । त्यसैगरी सुदूरपश्चिममा १५ जना आइसियू र एकजना भेन्टिलेटरमा, गण्डकीमा ७२ जना आइसियू र नौजना भेन्टिलेटरमा तथा कर्णालीमा नौजना आइसियूमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर दुई हजार पाँच सय ७१ जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ । यसमध्ये एक लाख ५९ हजार सात सय २४ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयको तथ्यांकअनुसार सोमबारसम्म मृत्यु हुनेको जम्मा संख्या एक हजार एक सय २६ पुगेको छ । पछिल्लो २४ घन्टामा १८ संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...