सवारी साधन चल्न दिएकै दिन बढ्यो पेट्रोलको मुल्य, अब पेट्रोलको मूल्य लिटरको १०२ रुपैयाँ पर्ने

Petrol pump 16

काठमाडौं । सरकारले लामो समयपछि सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउन बाटो खुल्ला गरेकै दिन नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा निगमले पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढाएको हो । शुक्रबार भने निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो ।

नेपालमा अब पेट्रोलको मूल्य लिटरको १०२ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ । हवाई इनधन र खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।

लकडाउनका बेला निगमलाई लिटरमा पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ४५ पैसा, डिजेलमा २५ रुपैयाँ ६९ पैसा र मटितेलमा ५५ रुपैयाँ ३५ पैसासम्म नाफा भएको थियो । त्यसकै बलमा निगमले करिब ३ अर्ब नाफा यही समय कमाएको छ ।

असार १ पछि निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन हुन थालेपछि तेलको माग बढ्दै गएको थियो । असार १ लकडाउन खुकुलो भएपछि इन्धनको खपत झण्डै ७० प्रतिशत पुगेको छ ।

तराईमा खेतीपाती गर्न ट्याक्टर र मेसिनहरुमा इन्धनको प्रयोग बढ्दो छ । यही बेलामा निगमले उपभक्ताको ढाड भाँच्ने गरी मूल्य समायोजन गरेको छ ।

प्रतिकृया दिनुहोस