डा. बाबुराम भट्टराईले भने, म भट्टराई पछि ‘कामी’ लेख्छु तपाई पनि लेख्नुस्

Baburam parliament

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रुकुममा जातीय विभेदका नाममा गरिएको पाँच युवकको हत्यालाई प्रतिक्रान्तिको संज्ञा दिएका छन् ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आइतवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै डा. भट्टराईले देशमा प्रतिक्रान्ति हुन दुःखद भएको भएको बताए ।

‘क्रान्तिको आधार इलाका रुकुममा त्यत्रो प्रतिक्रान्ति हुन्छ भने देश कहाँ जाँदैछ ?’ उनले सोधे, ‘हामीले यी बेथितिलाई हटाउनैपर्छ । एउटै झट्कामा किन भत्काउन सक्दैनौं तर सबैले साझा प्रयास गरौं ।’

‘अहिले पनि जातीय छुवाछूतका आधारमा यसरी प्रताडित गर्न पाइन्छ ?’ उनले भने, ‘बरु यो छुवाछूत प्रथा हटाउन तपाई हामी सबैले एकै थर लेखौं न । म पनि बरु बाबुराम भट्टराई ‘कामी’ भनेर लेख्‍न तयार छु ।’ उनले रुकुममा दलितमाथिको अन्याय क्षम्य नहुने बताए ।

उनले हिजोको वर्ण व्यवस्थाका आधारमा श्रम गर्ने वर्गलाई दलित भनेर हेपिएको भन्दै श्रम, सीप भएको वर्गलाई हेपेपछि देशको विकास हुन नसक्ने बताए ।

उनले दलित भन्ने शब्द प्रयोग गर्ने वा नगर्ने बारे छलफल हुन सक्ने बताए । उनले वर्णश्रम व्यवस्थाको अन्त्य नगरेसम्म असमान व्यवस्था अन्त्य नहुने बताए ।

 

प्रतिकृया दिनुहोस