रुकुम घटनाको चौतर्फी विरोध, किर्तिपुरमा शान्तिपूर्ण विरोध प्रदर्शन

Rukum ktm pradarsan

काठमाडौं । रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका ३ जनाको मृत्यु भएपछि चौतर्फी विरोध भइरहेको छ । जाजरकोटमा पत्रकार नै आमरण अनसनमा बसेका छन् भने काठमाडौंको किर्तिपुरमा युवाहरुले धर्ना दिएका छन् ।

शनिबार भएको सो घटनामा परी नवराज विक, गणेश बुढामगर र टिकाराम सुनारको मृत्यू भएको छ भने गोविन्द सुनार, सञ्जु विक र गोविन्द साही अझै बेपत्ता छन् ।

राजनीतिक दल, नागरिक समाजका अगुवा लगायतले सो घटनाको विरोध गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी दलित समुदायमाथि हुने अत्याचार र सामाजिक विभेदले सबै नेपालीको सिर झुकेको बताएका छन् ।

यस्तो अन्याय र अपराध सवै नेपाली माथिको कलंक भएको समेत टिप्पणी गरेका छन् । उनले समाजिक संजालमार्फत विभत्स हत्याका अपराधीलाई कडा कारवाही गर्नसमेत माग गरेका छन् ।

नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले रुकुममा भएको घटना मानवता विरोधी भएको उल्लेख गरेका छन् । उनले सो घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याएर कडा कारवाही गर्न माग पनि गरेका छन् । यस्ता घटनाले सिंगो समाजलाई उल्टो गतिमा लैजाने भएकाले कुनै पनि जातजातिलाई हेयको भावले नहेर्न उनले आग्रह पनि गरेका छन् ।

त्यसैगरी जातिभेद विरुद्ध विश्व मञ्च (ग्लोवल फोरम) को नेपाल समन्वय समितिले पनि सो घटनाको विरोध गरेको छ । यसका नेपाल अध्यक्ष मोहन विश्वकर्माले विज्ञप्ती जारी गर्दै राजनीतिक पूर्वाग्रह भन्दा माथि उठेर घटनाका दोशीलाई कारवाही गर्न माग गरेका छन् । उनले आइन्दा यस्ता घटना हुन नदिनका लागि राज्यले विषेश नीति बनाइनुपर्ने माग पनि गरेका छन् ।

समानताका लागि दलित अधिकार मञ्च (ड्रिम नेपाल) ले पनि रुकुममा भएको बर्बर घटनाको निन्दा गरेको छ । मञ्चका अध्यक्ष नरेश सोबले विज्ञप्तीमार्फत सो घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरको छ ।

रुकुममा अन्तरजातीय विवाहका कारण दलित युवाहरुको सामुहिक नरसंहारको विरुद्धमा मंगलबार किर्तिपुरको लोकतान्त्रिक चोकमा त्रिभुवन विश्वविधालयमा अध्ययनरत विधार्थी, युवा, राजजनीतिक दल, साहित्यकार, मानवअधिकारकर्मी, स्थानीय समाजसेवीको उपस्थितिमा प्रदर्शन भएको छ ।

हत्या हिंसाको विरुद्धमा प्लेकार्डसहित शान्तिपुर्ण विरोध कार्यक्रम दलित गैरसरकारी संस्था महासंघका उपाध्यक्ष सुशिल विक, विद्यार्थी नेताहरु रामलाल राजवंशी विश्वकर्मा, लोकेश विश्वकर्मा, प्रेम विक र दिपा नेपाली, मानवअधिकारकर्मी डा. पदमप्रसाद खतिबडा, केशरत्न बज्रचार्य र सहित्यकार संगीत स्रोता र लेखक बन्दना ढकाल लगायतको सहभागीता थियो ।

सो प्रदर्शनमा सहभागीहरुले ‘जातीय आधारमा हत्या कहिले सम्म ?’ ‘हामी कहिले सम्म मौन बस्ने ?’ ‘अजित मिजार, नवराज विक रु अझै कति मर्नु पर्ने ?’, ‘अन्तरजातीय विवाहको नाममा अझै कति युवायुवतीले आफ्ना् ज्यानको आहुति दिनुपर्ने’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

 

Auto Copied

प्रतिकृया दिनुहोस