कोरोनाको खोप परिक्षणपछि अमेरिकाले बुक गर्‍यो बेलायतसँग ३० करोड वटा खोप

Corona khop uk

काठमाडौं । कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अरूभन्दा अगाडि रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकाको अनुसन्धानलाई तीव्रता दिन अमेरिकाले एक अर्ब २० करोड डलरसम्म उपलब्ध गराउने भएको छ ।

अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले बिहीबार उक्त निर्णय गरेको हो । यसलाई कोरोना खोप विकास गर्ने बेलायती परियोजनामा अमेरिकी लगानीका रूपमा लिइएको छ ।

यो लगानीको बदलामा अमेरिकाले दुईवटा सर्त राखेको छ। पहिलो, उक्त खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण अमेरिकामा गर्नुपर्नेछ । दोस्रो, यसनिम्ति आस्ट्राजेनेकाले कम्तिमा ३० करोड वटा खोप अमेरिकालाई उपलब्ध गराउनेछ। आउँदो अक्टोबरसम्म पहिलो खेप उपलब्ध हुनेछ ।

यो एक किसिमले भन्दा परीक्षण सफल हुने बित्तिकै ३० करोड वटा खोप बुक गर्न अमेरिकाले गरेको लगानी हो । यही गृष्म याममा अमेरिकाका करिब ३० हजार स्वयंसेवीमा यसको क्लिनिकल परीक्षण गर्ने सम्झौता भएको छ ।

महामारीको पछिल्लो अवस्था हेर्दा संसारभरि अर्बौं डोज खोप आवश्यक पर्ने छ। विश्वव्यापी माग हेरेर बेलायती–स्वीडिस कम्पनी आस्ट्राजेनेकाले अनुसन्धान सँगसँगै उत्पादन क्षमता विस्तार गर्न विभिन्न देशका सरकार तथा संस्थाहरूसँग सम्झौता गरेको छ ।

कम्पनीको उत्पादन क्षमता अहिले नै एक अर्ब डोज छ भने पहिलो चरणमा कम्तिमा ४० करोड डोज उत्पादन गर्नेछ। पहिलो खेपको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने कम्पनीले दाबी गरेको छ ।

विश्वभरि सस्तो र सहज रूपमा खोप उपलब्ध होस् भनेर आस्ट्राजेनकाले संसारका सात देशबाट एकैचोटि उत्पादन गर्ने लक्ष्य राखेको छ । यसका लागि विभिन्न देशका औषधि उत्पादक कम्पनीहरूसँग सम्झौता प्रक्रिया अघि बढेको छ। यसमा भारतको सेरम इन्स्टिच्यूट अफ इन्डिया पनि एक हो । उक्त कम्पनीले गरिब तथा विकासोन्मुख देशहरूमा खोप उपलब्ध गराउनेछ ।

कोरोनाविरूद्ध खोप विकास गर्न विभिन्न देश र वैज्ञानिकबीच होड चलेको छ । अमेरिका आफैंले महत्वाकांक्षी परियोजना सुरू गरेको छ । गत शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०२० अन्त्यसम्म खोप विकास गर्ने उद्देश्यले ‘अपरेसन र्‍याप स्पिड’ घोषणा गरेका छन् ।

ट्रम्पले यो परियोजनालाई परमाणु बम बनाउन अमेरिकाले दोस्रो विश्वयुद्ध बेला सुरू गरेको ‘म्यानह्याटन प्रोजेक्ट’ सँग तुलना गरेका छन् । म्यानह्याटन प्रोजेक्टमा एक लाख बढी मानिसले काम गरेको अनुमान गरिन्छ ।

यति हुँदाहुँदै बेलायती परियोजनामा ठूलो लगानी गर्नुले त्यसप्रति अमेरिका बढी आशावादी रहेको देखाउँछ । खोप परीक्षण र ठूलो स्तरमा उत्पादन गर्न आस्ट्रोजेनेका अन्य परियोजनाको दाँजोमा अगाडि छ ।

यो परियोजनाले गरिब मुलुकहरूलाई पनि सहज उपलब्ध हुने गरी सस्तो मूल्यको खोप विकास गरिरहेको छ । यसले अहिलेसम्म बाँदरमा सफल परीक्षण गरिसकेको छ। मान्छेमा परीक्षण सफल हुनुअघि नै १० लाख वटा खोप निर्माणको काम अघि बढाइसकेको आस्ट्राजेनेकाले जनाएको छ ।

राष्ट्रपति ट्रम्प बिहीबार मिसिगन राज्य भ्रमणमा जाँदा अक्सफोर्ड र आस्ट्राजेनेकाको अनुसन्धानमा आर्थिक सहायता गर्न आग्रह गरिएको थियो । त्यही क्रममा ट्रम्पले खोप परीक्षणबाट आफू उत्साहित भएको बताएका थिए । आगामी केही साताभित्र ‘ठूलो, ठूलो घोषणा’ हुने पनि उनले उल्लेख गरेका छन् । उनले यो कुन कम्पनीको सन्दर्भमा भनेका हुन् भन्ने खुलाएका छैनन् ।

अक्सफोर्डका वैज्ञानिकले गत महिना पहिलो चरणको क्लिनिकल परीक्षण सुरू गरेका थिए । बेलायतका १ हजार १ सय जनालाई खोप लगाइएको थियो । दोस्रो र तेस्रो चरणको परीक्षण यो महिना अन्त्यसम्म बेलायतमा सुरू हुनेछ ।

यसपालि पाँच हजार जनाले भाग लिनेछन् । परीक्षण सफल भयो भने संसारभरि आकस्मिक प्रयोगका लागि सेप्टेम्बरसम्म अनुमति प्राप्त हुने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् ।

पछिल्लो समय बेलायतमा नयाँ संक्रमित दर घटेको छ । यसले बेलायतमा हुने क्लिनिकल परीक्षण प्रभावकारी हुन सक्छ कि सक्दैन भन्नेमा शंका छ । यही शंकाबीच अमेरिकामा ३० हजार स्वयंसेवीहरूमा हुने परीक्षणलाई खोपको प्रभावकारिता मापन गर्ने अवसरका रूपमा हेरिएको छ ।

अमेरिकाको स्वास्थ्य तथा सरकारी सेवा विभागले कोरोनाविरुद्ध खोप विकास गर्ने अन्य परियोजनासँग पनि सम्झौता गरेको छ । तर, अक्सफोर्ड र आस्ट्राजेनेकासँग सम्झौता गरिएको रकम अरूभन्दा धेरै हो ।

यसबाहेक बायोटेक कम्पनी ‘मोडर्ना’ लाई ४८ करोड ३० लाख र जोन्सन एन्ड जोन्सनलाई ५० करोड डलर सहायता गर्ने सहमति जनाइसकेको छ । फ्रेन्च कम्पनी ‘सेनोफी’ लाई पनि कोरोनाविरुद्ध खोप निर्माण गर्न ३ करोड डलर दिने भनेको छ ।

यीमध्ये मोर्डनाले निर्माण गरेको खोप पहिलोपटक मानिसमा परीक्षण गरिएको छ, जसले रोग प्रतिरोधक क्षमता वृद्धि गर्न सफल भएको कम्पनीले जनाएको छ ।

पहिलो चरणमा आठ जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा सोमबार सार्वजनिक गर्दै उत्पादक कम्पनी मोडर्नाले भनेको छ, ‘आठ जना स्वस्थ स्वयंसेवीहरूमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ ।’

कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परीक्षण सुरू गरेको थियो । परीक्षण क्रममा आठ जना स्वस्थ स्वयंसेवीलाई दुईचोटि खोप लगाइएको कम्पनीले जनाएको छ। यो खोप लगाएपछि रगतमा रोगसँग लड्ने ‘एन्टिबडी’ विकास भएको थियो । उक्त एन्टिबडीको प्रयोगशाला परीक्षण गर्दा त्यसले शरीरभित्र कोरोना भाइरस फैलिनबाट रोक्न सक्ने देखिएको छ ।

यो कम्पनीले पनि आफ्नो परीक्षण र उत्पादनलाई तीव्रता दिँदै छिटोभन्दा छिटो खोप प्रचलनमा ल्याउन राष्ट्रिय एलर्जी तथा सरुवा रोग संस्था र स्वीस कम्पनी ‘लोन्जा’ सँग सहकार्य गरेको छ । कम्पनीले छिट्टै दोस्रो चरणको परीक्षण सुरू गर्ने जनाएको छ ।

दोस्रो चरणमा ६०० जनामा खोप परीक्षण गरिने छ । त्यसपछि जुलाइबाट सुरू हुने तेस्रो चरणको परीक्षणमा हजार जना स्वस्थ व्यक्तिलाई खोप लगाइने छ ।

अमेरिकाको खाद्य तथा औषधि नियमन विभागले दोस्रो चरणको परीक्षण गर्न अनुमति दिइसकेको छ । यी तीनै परीक्षणबाट सकारात्मक नतिजा आयो भने यो वर्षको अन्त्य वा २०२१ को सुरूबाट व्यापक प्रयोगमा ल्याइने कम्पनीले जनाएको छ । द न्यूयोर्क टाइम्स 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...