कोरोना संक्रमणलाई जितेर एकैसाथ घर फर्किए बाँकेका २१ जना

Banke sankramit discharge

बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेका २७ जना कोरोना संक्रमितमध्ये २१ जना डिस्चार्ज भएका छन् । उनीहरु सबै नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारी टोलका हुन् ।

डिस्चार्ज हुनेहरुमा ९ जना महिलासहित १२ जना पुरुष रहेका छन् । जसमा तीन जना बालक रहेका छन् । डिस्चार्ज हुनेमा पहिलो संक्रमित भनिएका भएका ६० वर्षीय वृद्ध पनि छन् ।

देशमै पहिलोपटक ठूलो संख्यामा कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । योसँगै नेपालभर स‌ंक्रमण पुष्टि भएका ४ सय ८७ जनामध्ये निको हुनेको संख्या ७० पुगेको छ ।

कोरोनालाई जितेर घर फर्किंदा उनीहरुमा मुहार बेग्लै उत्साह थियो । पालैपालो स्वास्थ्यकर्मीले गम्छा अनि हातमा फूल थमाए । दोस्रो पटक पनि कोरोना जाँच गर्दा नेगेटिभ नतिजा आएपछि उनीहरुलाई शुक्रबार घर पठाइएको डा. राजन पाण्डेले बताए ।

बाँकेमा गत वैशाख १९ मा पहिलोपटक नेपालगन्ज उपमहानगरपालिकाका ६० वर्षीय वृद्धमा कोरोना पोजेटिभ पाइएको थियो । बाँकेमा अहिलेसम्म १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये नरैनापुरका २५ वर्षीय युवकको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस