नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या ३० पुग्यो

Corona update

काठमाडौं । नेपालगञ्जमा फेरि थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १०२ पुगेको छ । 

भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
२१ गते मात्रै बाँकेको नेपालगञ्जमा एकै दिन १५ जनामा कोरोना संक्रमण भेटिएको थियो । दिउँसो ९ जनामा संक्रमण भेटिएकोमा साथ थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

शुक्रबार मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. देवकोटाले कोसी अञ्चल अस्पतालमा उपचाररत ८ जना निको भएर घर फर्किएको बताए । ५ जना १७ औँ दिनको उपचारपछि र ३ जना १६ औँ दिनपछि डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए । योसँगै निको हुनेको संख्या ३० जना पुगेको छ ।

शुक्रबारसम्म नेपालमा आरडीटी विधिबाट ५४ हजार ५ सय ३१ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १५ हजार ४ सय ९२ परीक्षणहरु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म आइसोलेसनमा देशभरी १३५ जना रहेका छन् । काठमाडौँमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १३२ जना रहेका छन् । क्वारेन्टाइनमा १५ हजार ६ सय २४ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस