विराटनगरबाट कोरोनालाई जितेर डिस्चार्ज भए भुल्केका ८ जना

Koshi hospital covid 19

विराटनगर । विराटनगरको कोरोना विषेश अस्पतालबाट शुक्रबार थप ८ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

पछिल्लो ३ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ८ जनालाई डिस्चार्ज गरिएको गरिएको हो । डिस्चार्ज भएका सबै उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा संक्रमण देखिएका नागरिक हुन् ।

कोभिड–१९ अस्पताल व्यवस्थापक संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार नेगेटिभ देखिएका मध्ये एक जना भारतीय नागरिक छन् । उपचार केन्द्रका फिजिसियन डेनप्रसाद आचार्यले संक्रमितहरुको दोस्रो स्वाब परीक्षण नेगेटिभ देखिएका कारण डिस्चार्ज गर्न सिफारिस गरिएको बताए ।

सोही स्थानमा कोरोना संक्रमण पुष्टि भएका ६ जना बुधबार डिस्चार्ज भएका थिए । डिस्चार्ज भएसँगै विराटनगरबाट छुट्नेको संख्या १४ पुगेको छ । झापाका २, भोजपुरका १ र उदयपुरका ८ गरी कोरोना विषेश अस्पतालमा ३१ जना संक्रमितले उपचार गराइरहेका थिए । कोसी अस्पतालमा उपचार गराइरहेका ६ जना यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयले बिहीबार साँझ पिसिआर रिपोर्ट नेगेटिभ आएका ८ जनालाई शुक्रबार बिहान १० बजे डिस्चार्ज गर्ने जानकारी दिएको छ ।

थप ८ जना डिस्चार्ज भएसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस