भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ६ जना भारतीयलाई आज डिस्चार्ज गरिँदै

Koshi hospital covid 19

विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको कोभिड –१९ उपचार केन्द्रको आइसोलेसनमा १९ दिनदेखि बस्दै आएका उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ती ६ जना भारतीयलाई आज डिस्चार्ज गरिने भएको छ ।

वैशाख ५ गते संक्रमण पुष्टि भएका ६ जना भारतीयको स्वाब नमुनाको पछिल्लो परीक्षणको रिपोर्ट ‘नेगेटिभ’आएको थियो । उनीहरुमा संक्रमण नदेखिएपछि कोसी अस्पतालले डिस्चार्ज गरी क्वारेन्टाइनमा राखिने भएको छ ।

डिस्चार्ज हुनेमा ३०, २९, २८, २१, ३४ र २६ वर्षीय भारतीय नागरिक रहेका छन् । मस्जिदमा १० वटा बेडरुम र अलग्गै १० वटा शौचालयको व्यवस्था रहेकोले उनीहरुलाई मस्जिदमै राखिने तयारी भएको हो ।

संक्रमण पुष्टि भएका अरु ७ जनाको परीक्षण रिपोर्ट भने ‘पोजिटिभ’देखिएको छ । यसअघि संक्रमण पुष्टि भएकाहरुको विराटनगरस्थित कोसी अस्पतालको पीसीआर ल्याबमा शुक्रबारदेखि लगातार स्वाब नमुना परीक्षण गरिँदै आएको थियो । शुक्रबारयताको तेस्रोपटकको परीक्षणमा मंगलबार उनीहरुमा संक्रमण नदेखिएपछि डिस्चार्ज गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

कोभिड–१९ उपचार केन्द्रमा रहेका भुल्केका अन्य १५ जनाको पनि सोमबार परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । उनीहरुको प्रयोगशाला रिपोर्ट आउन बाँकी छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले संक्रमण पुष्टि भएका १३ जनाको लगातार तीनपटक थ्रोट स्वाब परीक्षण गर्दा ६ जनामा संक्रमण नदेखिएको पुष्टि भएको बताए । अन्य ७ जनामा भने तीनै पटकको परीक्षणमा संक्रमण देखिएको चिकित्सकको रिपोर्ट आएको उनले बताए । उनीहरुलाई भने आइसोलेसनमा राखेर हेरचाह गरिने छ ।

संक्रमितहरुको सम्पर्कमा आएका भुल्के बस्तीका थप १६ जनामा पनि संक्रमण पुष्टि भएको थियो । ती सबैलाई केन्द्रमा राखेर हेरचाह गरिँदै आएको छ । प्रदेश १ मा भोजपुरको हतुवागढीका १ र झापाको बाह्रदशी र दमकका गरी २ जनामा संक्रमण पुष्टि भएपछि उक्त केन्द्रमा राखिएको छ ।

विराटनगरको कोरोना अस्पतालमा ३१ जना स्रक्रमित उपचाररत् छन् । ती मध्ये २८ जना उदयपुरमा भेटिएका संक्रमित हुन् ।  

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या १ हजार ७ सय ७३ छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ४७ जना बसिहेका छन् ।

प्रतिकृया दिनुहोस