सुनमा अंकुश लगाइएकोमा विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालको आपत्ति

Chitwan  sunchadi sanjal baithak

चितवन । राज्यले सुनमा लगाएको अंकुशप्रति विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालले आपत्ति जनाएको छ ।

राज्यले कोभिड –१९ अघि सुनचाँदी व्यवसायीलाई दैनिक २० केजी सुन कोटाको आधारमा वितरण गरिरहेको थियो । तर अहिले कोभिड –१९ को कारण बताउँदै दैनिक १० केजी सुन वितरण गर्ने निर्णय गरेसँगै देशभरका सुनचाँदी वृत्तमा तरंग पैदा भएको छ ।

नेपाल राष्ट्र बैकले वाणिज्य बैंकहरूलाई मात्रै सुन आयातको अनुमति दिएको छ । बैंकहरुले आयात गरेको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको सिफारिसमा बजारमा बिक्री गरिन्छ ।

व्यवसायीले नेपाली बजारमा सुनको दैनिक माग २५ केजी हाराहारीमा हुने गरेको दाबी गर्छन् । तर, पछिल्लो समय एक्कासी मूल्य बढेको बेला बिक्री न्यून थियो । लकडाउनका कारण अहिले देशभरका सुनपसलहरु बन्दै अवस्थामा छन् ।

आइतबार विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालको केन्द्रीय संयोजक अर्जुन रसाईलीको अध्यक्षतामा भएको कन्फ्रेन्स कल बैठकले सरकारले गरेको निर्णयलाई असहमति जनाउँदै पहिलाकै मात्रामा सुन वितरणलाई निरन्तरता दिन सरकार र राष्ट्र बैंक समक्ष आग्रह गरेको छ ।

लकडाउनपछिको बदलिँदो परिस्थितिमा सुनचाँदी व्यवसायीहरूले अपनाउनुपर्ने रणनीतिहरुका विषयमा कन्फ्रेन्स कल बैठकमा छलफल गर्दै सञ्जाल एवम् सञ्जालद्वारा प्रवर्द्धित बिजि एण्ट्स ग्रुप कम्पनी लिमिटेडले अब पुनः व्यवसाय सञ्चालन गर्दा राज्य र आधिकारिक स्वास्थ्य संस्थाले तोकेको मापदण्ड र नियमभित्र रहेर व्यवसाय संचालन गर्न सचेत गराउने निर्णय गरेको कम्पनीका अध्यक्ष टुलक विश्वकर्माले जानकारी दिए ।

यसैबीच सञ्जाललगायत अन्य तीन संघसंस्थाहरू नेपाल सुनचाँदी व्यवसायी संघ चितवन, सुनचाँदी साकोस चितवन र विश्वकर्मा साकोस चितवनको सामूहिक सहकार्यमा खानपिन अभाव भएका बृद्ध तथा अशक्तहरूलाई गत चैत २९ गतेदेखि निरन्तर हालसम्म खाना खुवाउने कार्यक्रम जारी रहेको छ ।

उद्योग वाणिज्य संघ चितवनको परिसरमा हालसम्म ३ हजार ४ सय ३४ जनालाई खाना खुवाईएको सञ्जालका आर्थिक संयोजक तथा बिजिएण्ट्स् सचिव हेमबहादुर विश्वकर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस