खुम्चिँदै अर्थतन्त्र, अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रुपैयाँ पुग्ने अनुमान

Tathyank bivag

काठमाडौं । मुलुकको अर्थतन्त्र चालु आर्थिक वर्षमा २.२७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक बृद्धिदर ६.७५ प्रतिशत थियो ।

आर्थिक वर्ष २०७६/७७ को राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदन सार्वजनिक गर्दै विभागले यस्तो प्रक्षेपण गरेको हो । कोरोना महामारीको प्रभाव कहिलेसम्म हुने भन्ने यकिन गर्न नसकिएको अवस्थामा यो अनुमान तयार पारिएको प्रतिवेदनमा जनाइएको छ ।

केन्द्रीय तथ्यांक विभागले नेपाली अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ । चालु आवको साउनदेखि चैत महिनासम्मको तथ्यांकका आधारमा विभागले आर्थिक वृद्धिदर प्रक्षेपण गरेको हो ।

चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण १० खर्ब ६० अर्ब रुपैयाँ रहेको छ । प्रतिव्यक्ति आय १ लाख २६ हजार १८ रुपैयाँ अर्थात् १ हजार ८५ अमेरिकी डलर छ । यो औसत नेपालीको एक वर्षको आय हो ।

‘हाल विश्वमा देखिएको कोडिभ १९ को महामारीको असरलाई न्यून गर्नका लागि अवलम्वन गरिएको आन्तरिक तथा शाह्य प्रयासहरुको प्रभाव हाम्रो अर्थतन्त्रमा पनि पर्ने देखिन्छ,’ राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै तथ्याङ्क विगभाले भनेको छ, ‘यसको असर कति अवधिसम्म रहने भन्ने अनुमान गर्न नसकिएको अवस्थामा यस आर्थिक वर्षको अनुमान तयार गर्दा होटेल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र यस आर्थिक वर्षको अन्त्यसम्म अत्याधिक प्रभावित रहने तथा अन्य क्षेत्रहरु जेठबाट क्रमशः नियमित हुने विश्वास गरी अनुमानहरु तयार गरिएको छ ।’

औद्योगिक वर्गीकरण अनुसार चालु वर्षमा होटल तथा रेष्टुरेन्टको विस्तार संकुचन भइ ऋणात्मक वृद्धिदर देखिन्छ । यसका अतिरिक्त यातायात, उद्योग, खानी तथा खनिज क्षेत्रको विस्तारमा समेत संकुचन आउने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स १ खर्ब ६३ अर्ब रुपैयाँले घट्न सक्ने देखिएको छ । विभागले बुधबार सार्वजनिक गरेको अनुमानित विवरणअनुसार यो वर्ष ७ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिनेछ । यो नेपालको कुल गार्हस्थ उत्पादनको १९.०१ प्रतिशत हुनेछ ।

गत वर्ष नेपालमा आठ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिएको थियो । यो नेपालको कुल गार्हस्थ उत्पादनको २५.४ प्रतिशत हो । सामान्य अवस्थामा नेपालबाट महिनामा औसत ५० हजार युवा रोजगारीका बाहिरिन्छन् ।

रेमिट्यान्स कम आउँदा त्यसै पनि समस्यामा रहेको नेपाली अर्थतन्त्र थप दबाबमा त पर्ने नै छ । तर, भविष्यमा उत्पन्न हुनसक्ने जोखिम मूल्याङ्कन गर्न यो सही समय भएको विज्ञहरूको राय छ । किनकी अर्थतन्त्रमा रेमिट्यान्सको टेको पहिले जस्तो बलियो छैन ।

नेपाल जीवनस्तर सर्वेक्षण २०६७/६८अनुसार रेमिट्यान्स प्राप्त गर्ने घरपरिवारको कुल आम्दानीको ३१ प्रतिशत हिस्सा रेमिट्यान्सले ओगटेको छ । त्यसमध्ये ७८.९ प्रतिशत रकम घरायसी उपभोग, ७.१ प्रतिशत ऋण तिर्न, ३.५ प्रतिशत शिक्षा र ४.५ प्रतिशत घरायसी सम्पत्तिमा खर्च हुन्छ भने ०.६ प्रतिशत मात्र बचत ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...