कोरोनाको कहर : ३६ दिनमा सुनचाँदी व्यवसायमा ६ अर्ब नोक्सानी, २३ करोड ४० लाख राजश्व घाटा

Sun pasal

चितवन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड –१९ (कोरोना भाइरस) को सन्त्रासको कारण अहिले सरकारले देशभरी लगाएको लकडाउनलाई निरन्तरता दिइएको छ । सरकारले लकडाउन गरेको बैशाख १६ गते आज ३६ दिन पूरा भएको छ ।

इतिहासमा नै पहिलोपटक भएको लकडाउन (बन्दाबन्दी) का कारण अहिले ३६ दिनमा सुनचाँदी व्यवसायमा ६ अर्बको नोक्सानी भएको छ । नेपालमा सुनचाँदी व्यवसायमा वार्षिक रूपमा ६० अर्बको कारोबार हुने गरेको छ ।

नेपाल सरकारले हाल प्रति दश ग्राम ६ हजार ५ सय अर्थात् प्रतितोला ७ हजार ५ सय ८१ रुपैयाँ ६० पैसाको दरले राजस्व लिने गरेको छ । सोअनुसार एक किलोमा ६ लाख ५० हजार राजस्व उठ्ने गर्दछ । अहिले सरकारले निर्धारण गरेको दैनिक कोटा १० किलो दरले हिसाव गर्दा पनि सरकारको चैत ११ गतेदेखि वैशाख १६ गतेसम्म ३ सय ६० किलो बराबरको मात्रै २३ करोड ४० लाख राजस्व गुमेको छ ।

लकडाउनको यो ३६ दिनमा ६ अर्ब व्यवसाय नोक्सानी हुन पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष एवम् विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाईली बताउँछन् । लकडाउनका कारण सुनचाँदी क्षेत्र मात्रै नभइ नेपालको आर्थिक कारोबारमा नै नकारात्मक असर परेको रसाईलीले भनाई छ ।

लकडाउनकै कारण कतिपय भारतीय कालिगढहरू स्वदेश फिर्ता भइसकेका छन् भने केही मात्रमा नेपालमा नै बन्द कोठाभित्र बस्न बाध्य भएका छन् । विशेषगरी बैशाख र जेठ महिना भनेको विवाहको लगनको महिना भएको कारणले गर्दा पनि यतिबेला सुन बढी खपत हुने समय थियो ।

कोरोना भाइरसको सन्त्रासको कारण व्यवसायमा आजसम्म ६ अर्बको नोक्सानी भएको छ भने न्यूनतम् ६ प्रतिशत ज्याला दरको आधारमा ३६ करोडको कालिगढलाई ज्याला घाटा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका कोषाध्यक्ष महेन्द्ररत्न शाक्यले बताउँछन् ।

सेल्स स्टाफ मारमा
सनचाँदी व्यवसाय संचालनको अभिन्न अङ्गको रूपमा सेल्स स्टाफलाई लिइने गरिन्छ । व्यवसाय संचालकहरू मात्र नभई सेल्स स्टाफका करण कतिपयको पेसा व्यवसाय अहिले सम्म टिकिरहेको देख्न सकिन्छ । तर यो लकडाउनका कारण सेल्स स्टाफलाई समस्या उत्पन्न भएको देख्न सकिन्छ ।

नेपालभर २१ हजार व्यवसायीहरू आधिकारिक रुपमा नेपाल सरकारसंग दर्ता लिएर विभिन्न सुनचाँदीका महासंघहरूमा आवद्ध रहेका छन् । लकडाउन बन्दाबन्दीका कारण देशभरका २ लाख नेपाली तथा भारतीय कालिगढहरूको रोजगारी गुमेको छ । व्यवसायी र कालिगढलाई मात्र नोक्सानी नभर्इ अहिले राज्यलाई समेत राजश्व घाटा भएको छ ।

मासिक तलबको भरमा बसिरहेका सेल्स स्टाफलाई यतिबेला के खाने र कसो गर्ने भन्ने सोचमा डुबिरहेको देख्न पाइन्छ । देशभर २१ हजार पसलमा करिब १० हजार सेल्स स्टाफ रहेको र करिब २० करोड रूपैयाँ बराबरको रोजगारी गुमेको महासंघका कोषाध्यक्ष शाक्यको भनाई छ ।

ब्याजको चिन्ता
चैत महिना वैशाख महिनाको लगनको लागि पूर्व तयारी गरिने महिनाको रूपमा लिइन्छ । लगन आएसँगै व्यवसायमा लगानी केही मात्रमा भए पनि बृद्धि गर्नुपर्दछ । त्यसै अनुरूप बैंकबाट ऋण लिएर लगानी गरेका हुन्छन् ।

लामो समयसम्म भइरहेको लकडाउनका कारण व्यवसाय ठप्प हुँदा व्यवसायीलाई बैंकको ऋण र साहुँको ऋणकै चिन्ता भएको छ । व्यवसाय संचालनका लागि विभिन्न व्यक्तिहरुबाट ल्याएको रकमको व्याज कसरी तिर्ने भन्ने चिन्ताले अहिले सताउने गरेको छ ।

‘कोरोनाको कहर त त्यसै पनि छ । सबै सुरक्षित हुनपर्छ र सुरक्षित रहन आग्रह गर्दछु तर वैशाखको लगनको लागी बैंक संगै अन्य दाताहरूबाट सापट स्वरूप ल्याएको रकमको व्याज कसरी तिर्ने भन्नेमा चिन्ता थपिएको छ’ चितवन मिलन रोडस्थित बाग्लुङ ज्वेलर्स संचालक अमिर सुनार भन्छन्, ‘लकडाउन सकिएपछि झन व्यवसायमा संकट आउला भन्ने भएको छ, यसले हामीलाई ठूलो असर गर्छ ।’

हाल व्यवसायमा भएको नोक्सानीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा अब यतिबेला महासंघहरूद्वारा बृहत कन्फ्रेन्सको माध्यमद्धारा छलफल गर्न उनको सुझाव छ ।

मारमा कालिगढ
लकडाउन लम्बिएसँगै सुनचाँदी कालिगढ गरेर जीविकोपार्जन गर्ने नेपाली तथा भारतीय कालिगढलाई छाक टार्नसमेत हम्मेहम्मे परेको छ । पर्याप्त पुँजी हुने र रासनको जोहो गरिसकेकालाई कालिगढको विषयमा केही सरोकार नरहे पनि नेपाली सुनचाँदी क्षेत्रलाई आफ्नो कर्म सम्झेर कार्य गरिरहेका देशभरका कालिगढहरूलाई सकस परेको छ ।

देशभर २१ हजार सुनचाँदी व्यवसाय संचालनमा छन् भने २ लाख नेपाली तथा भारतीय कालिगढहरू रहेका छन् । उनीहरुका लागि स्थानीय सुनचाँदी व्यवसायी संघहरूले राहत केहि स्थानमा वितरण गरेका छन् । तर, त्यो पर्याप्त छैन् । देशभरका कालिगढ र सेल्स स्टाफहरूलाई के कसरी राहतको व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा ठूलो भोलुम छलफल गर्न आवश्यक छ ।

त्यस्तै अहिले विधुतिय माध्यमलाई भरपूर रूपमा प्रयोग गर्दै महासंघहरूले यस विषयलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने विषयमा सोंच्न आवश्यक रहेको देखिन्छ ।

सामाजिक कर्ममा ब्यस्त
सुनचाँदी व्यवसायमार्फत जीविकोपार्जन गर्ने कालिगढहरूलाई सुनचाँदी व्यवसायी संघ ललितपुरले मंगलबार राहत प्रदान गरेको छ । लकडाउन अवधि लम्बिएसँगै सुनचाँदीको काम गर्ने भारतीय मूलका बंगाली कालिगढहरूलाई दैनिकी चलाउन कठिनाई हुँदै गएपछि राहत वितरण गरिएको निवर्तमान अध्यक्ष किरणभाई बज्राचार्यले बताएका छन् ।

ललितपुर क्षेत्रमा रहेर काम गर्दै आईरहेका दुईसय जना भारतीय कालिगढहरुलाई नगद दुई लाख बराबरको प्रति व्यक्ति चामल ५ केजी, आटा ३ केजी, दाल १ केजी, चिनी १ केजी, आयो नुन १ केजी, तेल १ लिटर राहत वितरण गरिएको र दोस्रो चरणको राहत नेपाली कालिगढलाई दिने योजना बनाएको उनले बताएका छन् ।

सुनचाँदी व्यवसायी संघ कास्कीले मंगलबार पहिलो चरणमा १५० जना नेपाली तथा भारतीय कालिगढहरूलाई चामल, दाल, केराउ, तेल, मस्यौरा र नुन वितरण गरिएको संघका निवर्तमान अध्यक्ष चन्द्रकिशोर गौतमले बताए । दोस्रो चरणमा २०० जना कालिगढहरूलाई वितरण गरिने उनले जानकारी दिए । सुनचाँदी व्यवसायी संघ कास्की र केही सदस्यहरूको सहयोगमा राहत वितरण गरिएको बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवन, सुनचाँदी साकोस चितवन, विश्वकर्मा साकोस चितवन र विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जाल केन्द्रीय कार्यालय चितवनको संयुक्त आयोजनामा चैत २८ गतेदेखि खाद्यन्नको अभाव भएका बृद्ध तथा अशक्तहरूलाई निरन्तर रूपमा खाना खुवाइरहेको कार्यक्रमको संयोजकसमेत रहेका नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष एवम् विश्वकर्मा साकोस चितवनका अध्यक्ष विपिन रामुदामु बताउँछन् । चैत २८ देखि हालसम्म २ हजार ४ सय ८३ जनालाई खाना खुवाईएको उनको भनाई छ ।

लकडाउन मात्रै समाधान होइन
सुनचाँदी क्षेत्रमा देखिएको विषम परिस्थितिलाई निराकरणका लागी सबै महासंघले संयुक्त रूपमा सरकार समक्ष सुनचाँदी परिषद्को माध्यमबाट पहल गर्नुपर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका कोषाध्यक्ष महेन्द्ररत्न शाक्यले बताएका छन् ।

उनले अब लकडाउनको स्वरूप परिवर्तन गर्न आवश्यक रहेको जिकिरसमेत गरे । कोभिड–१९ लाई नियन्त्रण गर्न लकडाउन मात्रै समाधान नभएकोले अब यसको विकल्प सोच्न सरकारलाई अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...