के सूर्यको प्रकाशले कोरोना भाइरस चाँडो मर्छ त ? अमेरिकी वैज्ञानिक भन्छन्, मर्छ

Surya ko prakash corona

एजेन्सी । अमेरिकी वैज्ञानिकहरूले सूर्यको प्रकाशले कोरोना भाइरस चाँडै नष्ट हुने बताएका छन् । तर उद्धृत गरिएको अध्ययन सार्वजनिक गरिएको छैन । वैज्ञानिकहरू बाह्य मूल्यांकनको नतिजा पर्खिरहेका छन् ।

सरकारी वैज्ञानिकहरूले अल्ट्राभायोलेट किरणले किटाणुविरूद्ध शक्तिशाली प्रभाव पार्ने निष्कर्ष निकालेको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका लागि विज्ञान र प्रविधि सल्लाहकार विलियम ब्रायनले बताए । यसले गर्मी बढेसँगै भाइरस फैलिने क्रम रोकिने आशा पलाएको छ ।

सूर्यको प्रत्यक्ष प्रकाशमा भाइरस चाँडो नष्ट हुने ब्रायनले बताए । ‘सूर्यको प्रकाशले सतह र हावामा भाइरसविरूद्ध शक्तिशाली प्रभाव जमाउँछ र भाइरस नष्ट गर्छ’, उनले भने, ‘तापक्रम र आर्द्रतामा पनि उस्तै प्रभाव देखिएको छ । तापक्रम र आर्द्रता वा दुवै बढे भाइरसका लागि प्रतिकूल नहुने देखिएको छ ।’

अल्ट्राभायोलेट किरणमा निर्मलीकरण गर्ने क्षमता हुन्छ । धेरै पहिले नै पत्ता लागेको तथ्य हो । विकिरणले भाइरसको जेनेटिक मटिरियल र प्रजनन गर्ने क्षमता नष्ट गर्छ । तर सिंगापुर, मलेसिया र थाइल्यान्डजस्ता गर्मी स्थानमा पनि कोरोना भाइरस घातकसिद्ध भएको छ । सले वातावरणीय कारकको प्रभावबारे वृहत प्रश्न उठाएको छ ।

विश्व स्वास्थ्य संगठनकी डा। मार्गरेट ह्यारिसले सूर्यको प्रकाशको सिद्धान्तलाई पुष्टि गर्ने प्रमाण नभएको बताइन् । ‘माफ गर्नुहोस् तर धेरैले आशा गरेजस्तो गर्मीले प्रभाव पार्छ भन्ने आश गर्न सकिँदैन’ उनले भनिन् ।

गर्मीले भाइरस उन्मूलन हुन्छ भन्नु गैरजिम्मेवारपूर्ण हुने ब्रायनले चेतावनी दिएका छन् । तर त्यो समयले महाव्याधिभन्दा अघि बढ्ने अवसर प्रदान गर्ने उनले बताए । ब्रायनले उद्धृत गरेको अनुसन्धान समीक्षाका लागि सार्वजनिक गरिएको छैन । अनुसन्धानको विधि कति बलियो छ, त्यसबारे स्वतन्त्र विशेषज्ञलाई प्रतिक्रिया दिन कठिनाइ भएको छ ।

परीक्षणमा अल्ट्राभायोलेट किरणको ‘इन्टेन्सिटी’ र ‘वेभलेन्थ’ के कति प्रयोग गरियो, एउटा महत्वपूर्ण प्रश्न हुनसक्छ । गर्मीको प्राकृतिक प्रकाशसँग कति मिल्दोजुल्दो छ त्यो पनि महत्वपूर्ण छ । अघिल्ला अध्ययनमा न्यानो तापक्रम र उच्च आर्द्रताले भाइरस फैलिनबाट रोक्ने विश्वसनीय प्रमाण भेटिएको छैन ।

ब्रायनले मेरील्यान्डस्थित नेसनल बायोडिफेन्स एनलाइसिस एन्ड काउन्टरमेजर्स सेन्टरमा गरिएको परीक्षणको प्रमुख नतिजाको संक्षेप प्रस्तुत गरेका थिए ।

अँध्यारो र आर्द्रता न्यून भएको वातावरणमा स्टेनलेस स्टिलजस्ता हावा र तरल पदार्थ वारपार नहुने अर्थात् नन पोरस सतहमा भएको नयाँ कोरोना भाइरसको आधा शक्ति हराउन १८ घण्टा लाग्ने ब्रायनले बताए ।

उच्च आर्द्रतायुक्त वातावरणमा आधा जीवन ६ घण्टा र, उच्च आर्द्रता र सूर्यको प्रकाशमा राख्दा त्यो आधी जीवन दुई मिनेटमा झरेको उनले बताए ।

हावामा भएका कोरोना भाइरसमा पनि त्यस्तै प्रभाव देखिएको र अँध्यारो कोठामा भाइरसले आफ्नो आधा शक्ति एक घण्टासम्म राखेको अनुसन्धाताले पत्ता लगाए । तर सूर्यको प्रकाशमा ९० सेकेन्डमै आधा शक्ति गुमेको ब्रायनले बताए । ब्लिचभन्दा इसोप्रोपिल अल्कोहल बढी प्रभावकारी भएको पनि अनुसन्धाताले पत्ता लगाएका छन् ।

प्रतिकृया दिनुहोस