अन्तर्राष्ट्रिय मुद्रा कोषद्धारा आकस्मिक ऋण राहत स्वीकृत 

Kosha

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषले आफ्ना २५ सदस्य राष्ट्रको लागि आकस्मिक ऋण राहत स्वीकृत गरेको छ ।

कोषको कार्यकारी बोर्डले कोरोना महामारीको असरलाई सम्बोधन गर्न कोषको महाविपत्ति नियन्त्रण तथा राहत ट्रस्ट (सीसीआरटी) अनुसार उक्त सेवा दिने निर्णय गरेको हो ।

कोषकी प्रबन्धनिर्देशक क्रिस्टालिना जर्जिएभाले सोमबार विज्ञप्तिमा भनिएको छ, ‘यसअनुसार अत्यन्त गरिब र सहयोग अत्यावश्यक देखिएका हाम्रा २५ सदस्य राष्ट्रलाई अनुदानस्वरुप सहयोग दिन लागिएको हो ।’ यसले ती राष्ट्रको आईएमएफको ऋण अर्को छ महिनासम्मको लागि कभर गर्नेछ । यसबाहेक अन्य राहत र स्वास्थ्य सामग्री पनि यही सहयोगअन्तर्गत प्राप्त हुने आईएमएफले जनाएको छ ।

सीसीआरटीले तत्काल ५० करोड अमेरिकी डलर उपलब्ध गराउनेछ । यस किसिमको सहयोगको लागि भर्खरै बेलायतले प्रतिबद्धता जनाएको साढे १८ करोड डलर र जापानले प्रतिबद्धता जनाएको १० करोड डलर पनि यसअन्तर्गत पर्ने आईएमएफको भनाइ छ । चीन, नेदरल्यान्ड लगायतले पनि आईएमएफसँग सहयोगको प्रतिबद्धता जनाएका छन् ।

आईएमएफले सहयोगका लागि अपिल समेत गरेको छ । सोमबार स्वीकृत सहयोग पाउने २५ देशमा नेपालसहित अफगानिस्तान, बेनिन, बुर्किनाफासो, सेन्ट्रल अफ्रिकन रिपब्लिक, चाड, कोमोरस, कंगो, डीआर, द गाम्बिया, गिनी, गिनी बासु, हैटी, लाइबेरिया, माडागास्कार, मालावी, माली, मोजाम्बिक, नाइजर, रुवान्डा, साओ टोम, प्रिन्साइप, सिएरा लिओन, सोलमन आइल्यान्ड, ताजिकिस्तान, टोगो र यमन छन् ।

प्रतिकृया दिनुहोस