कोरोनाले उपत्यकामा ४० प्रतिशत सटर खाली

Thamelll

काठमाडौ । उपत्यकामा व्यवसाय गर्दै आएका ४० प्रतिशतभन्दा बढी सटर खाली भएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण ६ महिनादेखि व्यवसाय पूर्ण रूपमा सञ्चालन हुन नपाउँदा ४० प्रतिशत सटर खाली भएका हुन् । मुख्य व्यापारिक क्षेत्र, न्युरोड, असन, भोटाहिटी, बानेश्वर, कोटेश्वर, शंखमूललगायतका अन्य क्षेत्रमा रहेका पसलका सटर खाली भएका हुन् ।

सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि ११ चैतदेखि उपत्यकामा लकडाउन भएको थियो । तीन महिनासम्म पसल बन्द हुँदा व्यवसाय गर्न नसकेर पसल बन्द भएको व्यवसायीको भनाइ छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले कोरोना भाइरसका कारण उपत्यकामा ४० प्रतिशत सटर खाली भएको जानकारी दिए । लामो समयसम्म भएको लकडाउनका कारण व्यवसाय सञ्चालन गर्न नसकेर पसल बन्द भएको उनको भनाइ छ ।

“कोराना भाइरसका कारण ७० प्रतिशत उद्योगहरू बन्द रहेका छन्,” उनले भने, “त्यसको कारणले धेरै पसल बन्द भइ अर्बांैको क्षति हुनुका साथै धेरैको रोजगारी गुमेको छ ।” कोरोनाको प्रभावले साना तथा मझौला व्यवसायमा धेरै नै ठूलो क्षति भएको उनको भनाइ छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नियन्त्रण गर्न गरिएको पहिलो चरणको लकडाउनदेखि नै व्यवसाय पूर्णरूपमा ठप्प अवस्थामा रहेका छन् । जसको कारणले गर्दा पनि साना तथा मझौला व्यवसायमा अर्ब रुपैयाँको क्षति भएको व्यवसायीले बताएका छन् । उपत्यकाको मुख्य बजार न्युरोडसँगै अन्य सबै बजार पसल अत्यावश्यक बाहेक पूर्णरूपमा बन्द रहेका छन् ।

पसल हल्का खुलेको भए पनि सटर तानेर मान्छे भित्र बसेकाले व्यापार हुन सकेको व्यवसायीको भनाइ छ । प्रत्यक्ष असर पर्नेमा खुद्रा व्यापार, आयाकर्ता, उद्योगहरू रहेका छन् ।

लामो समयदेखि बन्द हुँदा व्यवसाय नै धरापमा पग्न थालेपछि महासंघले सरकारसमक्ष विभिन्न माग गरेको छ । लकडाउनको बैंक र सहकारीको ब्याज पूर्णरूपमा मिनाह गर्नुपर्ने, सोही अवधिभरको उद्योग तथा व्यावसायिक घरभाडा मिनाहा गर्नुपर्ने माग राखेको अध्यक्ष कटुवालले जानकारी दिए । यस्तै उद्योग व्यवसाय बचाउनका लागि सरकारले बिना धितो ऋणप्रवाह गर्ने व्यवस्था गरिदिनुपर्ने माग गरेका छन् ।

महासंघका अनुसार केरुङ नाकामा एक वर्ष आउन नपाएर एक हजार दुई सय कन्टेनर रोकिएका छन् । त्यहाँ कच्चा पदार्थ, तयारी सामान, कस्मेटिक सामानहरू धेरै रहेका छन् । हालै परराष्ट्र मन्त्रालयसँग कुरा गरेर केही सामान ल्याउनुपर्छ भनेर चीनतर्फका एकतर्फी नाका खुलाइएको पनि दिनमा चार वटा भन्दा बढी टयाङकर भन्सार पास नहुँदा ती ट्याङकर ल्याउन अझै एक वर्ष लाग्न सक्ने व्यवसायीको भनाई छ । नाकामा लामो समयदेखि रोकिएका मालवस्तु तत्काल ल्याउनको लागि सरकारले तत्काल पहल गर्नुपर्ने व्यसायीको माग रहेको छ ।

कोभिडले भयवित अवस्था बनाएकाले कसरी अगाडि जाने भन्ने विषयमा निजी क्षेत्र र सरकार सम्मिलित समन्वय समिति गठन गर्न व्यवसायीले माग गरेका छन् । निजी क्षेत्रमा सरकारले लादेको सिन्डिकेट रहेको बताउँदै कटुवालले केही महासंघलाई मात्र बोलाएर बैठक गर्ने हुनाले निजी क्षेत्र र सरकार सम्मिलित समिति गठन गर्न माग गरिएको व्यवसायीको माग गरेका छन् ।

यी माग पुराना भएन भने शोक र भोकमा बसेको जनता बाहिर उत्रने व्यवसायीले चेतावनी दिएका छन । यस अघि नै लकडाउनकै अवधिमा व्यवसायीले पसल खुला गरेर सञ्चालन गरेका थिए । अत्यावश्यक वस्तु बिहान ११ बजेसम्म खुला भए पनि हाल अन्य व्यवसाय पूर्णरूपमा ठप्प रहेका छन् । कोरोना भाइरसले गर्दा उद्योग व्यवसाय मात्र नभएर अन्य सवै क्षेत्रमा पूर्ण रूपमा असर पारेको छ ।

प्रतिकृया दिनुहोस