ढोरपाटन बाढीपहिरो अपडेट : १३ जनाको शव भेटियो, १ जनाको मात्रै शव पहिचान

Baglung pahiro

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ का देउराली, सुपुरदुङलगायत स्थानमा बुधबार राति आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको अध्यावधिक विवरणअनुसार हराइरहेकामध्ये १३ जनाको शव फेला परेको छ । बेपत्ता हुनेहरुको संख्या समेत थपिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले पनि हराउनेको संख्या ३० देखि ४० जनासम्म हुनसक्ने बताए ।

अहिलेसम्म मृतकमध्ये २६ वर्षीया केशमाया विकको मात्र पहिचान भएको छ । अन्यको सनाखत भइसकेको छैन । टोलीले घटनास्थलबाट ४ घाइतेको उद्धार गरेको छ ।

भुजी खोलाले बगाएर ल्याएका शव बुर्तिवाङ बजार र बडिगाड खोलासम्म पनि भेटिएको स्थानीयले बताए । पहिरो खसेको स्थान ढोरपाटन–सालझन्डी सडक खण्डमा पर्छ ।

घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ । घटनास्थल सदरमुकाम देखि १ सय ३० किमी पश्चिममा पर्छ । पहिरो खसेको थाहा पाएर पनि रातभर फोन र विद्युत् अवरुद्ध भएकाले उद्धार गर्न कठिनाइ भएको छ ।

घटनामा हालसम्म चार जना घाइते भएको प्रहरीको भनाइ छ । बुधबार राति १२ बजेदेखि खसेको पहिरोले यहाँका ४० घरमा क्षति पुगेको छ ।

अधिकांश घर बगेका छन् भने कतिपय पुरिएका छन् । पहिरो खोलामा मिसिएपछि आएको बाढीले सडक, झोलुंगेपुल र खानेपानीका मुहानसमेत क्षतविक्षत बनाएको छ । एक विद्यालयको भवनमा क्षति पुगेको छ ।

 

प्रतिकृया दिनुहोस