सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : ७ दिनभित्र उपस्थित हुन अख्तियारको पत्र

Bijaya misra printing press

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई एक साताभित्र आयोगमा उपस्थित हुन सार्वजनिक सूचना निकालेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको हो ।अख्तियारले बुधबार जारी गरेको सार्वजनिक सूचनामा कमिसन मोलमोलाइको विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँको मोलमोलाईको अडियो सार्वजनिक भएपछि मिश्रसमेत विवादमा तानिएका थिए । घटनापछि बास्कोटाले राजीनामा दिएका छन् । मिश्र भने जापान पुगेका छन् ।

तोकिएको समयसीमाभित्र उपस्थित नभए कानुन बमोजिम हुने अख्तियारले जनाएको छ । ‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुन बमोजिम भइ जाने छ,’ अख्तियारको सूचनामा लेखिएको छ ।

त्यसअघि गत पुस २१ गते संसदको सार्वजनिक लेखा समितिमा विज्ञका रुपमा बोलाइएका मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि फ्रान्स र जर्मनीका कम्पनीले गरेको प्रस्तावमा आर्थिक चलखेल भएको बताएका थिए ।

यस्तो छ अख्तियारको पत्र

सेक्युरिटी प्रेस खरिद प्रकरणमा जोडिएका विजयप्रकाश मिश्रले आफूले अख्तियारलाई सहयोग गर्ने बताएका थिए । पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेका मिश्रले आफू अख्तियारको दायराबाट नभागेको भन्दै थप प्रमाण आयोगमा उपलब्ध गराउने बताएका हुन् ।

मिश्रले विज्ञप्तिमार्फत भनेका छन्, ‘राजनीतिक आवरणमा भएको सेक्युरिटी प्रेस खरिद प्रकरणको छानबिनका लागि सहयोग गर्छु ।’ अख्तियारले आवश्यक सहयोगका लागि भनी आफूलाई पत्र पठाएको तर काम विशेषले जापान आएको मिश्रले बताएका छन् ।
‘यस्तो कुरामा यी मु ‘... कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन्’ अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले कर्मचारीलाई संकेत गर्दै एजेन्टसँग भनेका छन्, ‘यो मु...ले बनाएको त ३५ अर्बको छ नि, यो ३५ अर्ब नै नभएपछि, २७ अर्बको निस्केपछि २८ अर्ब बनाउनोस् ।’

अडियो सम्वादमा मन्त्री बास्कोटासँग कुरा गर्ने व्यक्ति स्वीस कम्पनीको एजेन्ट हो भन्ने कुराकानीबाट बुझ्न सकिन्छ । अडियोको सुरुमै एजेन्टले मन्त्री बास्कोटालाई भनेका छन्,‘ यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ । समय मिलाउनुहोला ।’
यो अडियो बाहिरिएपछि बास्कोटाले पद नै छाड्नु परेको थियो भने पछिल्लो केही दिनयता उनलाई उन्मुक्ति दिन खोजिएको आरोप लागदै आएको छ ।
विजय मिश्रको विज्ञप्ति पढ्नुहोस्

 

 

प्रतिकृया दिनुहोस