के सामाजिक मर्यादा कायम गर्न जरुरी छैन र ?

Kumar panta kartik 20 -

नेपालीहरूको महान पर्वहरू बडादशै, तिहार, नेपाल सम्बत र छठ पर्व भर्खरै समापन भएको छ । यी पर्वहरू सामाजिक तथा साँस्कृतिक सद्भावका साथ आम नेपालीले आफ्नो गक्षअनुसार मनाएर बिदा गरेका छन् । यसै बीचमा सामाजिक मूल्य, पद्दति र मर्यादाका बिषयले समेत नेपाली समाज केही दिन तरङ्गित बन्यो । जब नेपाल सरकारले सामाजिक मान्यता बिपरित र समाजलाई गलत बाटोतिर लैजान प्रेरित गर्ने खालका शब्दहरूको प्रयोग गरी गाइएका गीतका गायकहरूलाई नियन्त्रणमा लिएर त्यस्ता शब्द हटाउन लगायो । यो सकारात्मक काम थियो ।

नेपाल सरकारले मात्रै होइन, सामाजिक मर्यादा हामी सबैले आ–आफ्ना क्षेत्रमा कायम गर्न जरूरी छ । नत्र कानुन छ, देशमा मर्यादा कायम गराउन । स्वतन्त्रताको नाममा अराजकता लोकतान्त्रिक राज्य प्रणालीमा र समाजिक सद्भावका हिसाबले पनि स्विकार्य हुनै सक्दैन । अराजकताले सामाजिक सम्बन्धलाई खल्बल्याउँछ । समाजलाई हिंस्रक र मर्यादाहीन दिशामा लान सक्छ । स्वतन्त्रतामा अधिकार र कर्तव्य, बिरोध र समर्थनको द्वन्द्वात्मकता अन्तर्निहीत हुन्छ । यस अर्थमा पनि राज्यले गलत चिजलाई नियन्त्रण र नियमन गर्ने कुराको आलोचना जरूरी छैन ।

नेपालमा राजनीतिक व्यवस्था परिवर्तनका लागि सबै राजनीतिक दलहरूले ऐतिहासिक भुमिका निर्वाह गरेर नै आजको उचाइँमा पुगेको कुरालाई नकार्न सकिन्न । जब राजनीतिक व्यवस्था परिवर्तन हुन्छ, त्यसपछि ती परिवर्तनका बाहक दलहरूले नयाँ व्यवस्थाको सामाजिक तथा सांस्कृतिक मान्यताको विकासमा वेवास्था गर्छन् । अझ भनौं पुरानै शासकको बिडो थाप्न होडबाजी नै चल्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सामाजिक र सांस्कृतिक आचरण कस्तो हुनुपर्ने हो ? त्यतातिर बहस छलफल र चिन्तन हुँदै हुँदैन । सधैँ परिवर्तनपछि नेपाली जनताले त्यसको अनुभूति गर्न नपाउनुको मुख्य कारण सामाजिक मर्यादा र आचरणमा परिवर्तन हुन नसक्नुले हो ।

हिजो पञ्चायतमा भोटो देखाउने जात्रामा राजा जान्थे । बहुदलीय व्यवस्थामा पनि तिनै राजा गए र गणतन्त्रमा राजाको ठाउँमा रास्ट्रपति जान थाले । तर उहीँ राजसिं ठाटबाटमा । हिजोका राणा र शाहहरूले आफ्ना दरबारको प्रांगणमा जसरी जनताको लम्बे लाइन लगाएर दशैको टीका लगाई दिन्थे । मानौ उनीहरू अलौकिक हुन् र त्यो टीका, टीका होइन बरदान हो । ठ्याक्कै त्यसको झल्को दिनेगरी परिवर्तित व्यवस्थाका महामहिमले लगाइदिने राजसिं टिकाले कसरी नयाँ व्यवस्थाको अनुभुती जनताले गर्न सक्छन ?

पछिल्लो समयमा समाजमा नकारात्मकता बाड्नेहरूको पनि कमी छैन । स्वतन्त्रताको नाममा अराजकता फैलाएर समाज र व्यवस्थालाई अस्थिर बनाउन चाहनेहरू पनि न्वारन देखिकै बल लगाएर भिडिरहेकै छन् । चर्चामा आउनकै लागि राजनीतिक नेतृत्वलाई तथानाम गाली गलौज गर्ने ज्ञानेन्द्र शाही प्रवृत्ति पनि अहिले सामाजिक मर्यादाको चुनौतिको रूपमा रहेको आएको छ । यस्ता प्रवृत्तिको हावी हुँदै गएमा रनज्यप्रति नकारात्मक सोच पाल्नेहरू बलिया बन्छन् र राज्य कमजोर बन्छ । त्यसैले राज्यले बेलैमा यस्तो प्रवृत्तिको नियन्त्रण र नियमन गर्नुपर्छ ।

समयसँगै राजनीतिक व्यवस्थाको परिवर्तन र विकास विज्ञानको नियम हो । साथै सामाजिक आचरण, नैतिकता तथा जीवनशैली र जीवन पद्दतिको पनि विकास र रूपान्तरण जरूरी छ । सामाजिक तथा राजनीतिक व्यवस्था अनुसारको आचरण र जीवन पद्दतिको विकासमा नेतृत्वले सचेततापुर्वक पहलकदमी लिन नसक्दा बिकसित सामाजिक व्यवस्थाप्रति बहुसंख्यक मानिसमा अविश्वास हुन जान्छ । अन्ततः त्यसले अस्थिरता पैदा हुन्छ । परिवर्तित व्यवस्थामा जहिले पनि त्यसको नेतृत्वको जीवनशैलीमा आम मानिसको ध्यानाकर्षित हुन्छ कि उसको बोली र व्यबहारको सामजस्यता छ कि छैन ?

जनताको नाममा जीवनभर राजनीति गर्ने र सत्तामा पुगेपछि जनता जहाँको त्यहीँ हुने र नेतामा देखिने चमत्कारिक परिवर्तनले जनतामा निरासा छाउँछ । त्यसतर्फ सोच्नुपर्छ । सामाजिक आचरण बहुसंख्यक जनताको जीवनस्तरसँग मेल खाने र जनताको अपनत्व हुनेखालको हुनुपर्छ । जीवनस्तर देख्दा जनतामा शासकको गन्ध आउने जीवनशैली नेतृत्वमा हुनुहुँदैन । सामाजिक नैतिकता निर्माणमा सबै क्षेत्र र तहको नेतृत्वको जीवनशैलीको प्राथमिक र महत्वपूर्ण भुमिका रहन्छ ।

समाज विकासको विभिन्न चरणहरूमा संस्कार तथा सांस्कृतिक सम्बन्धहरू पनि कति स्वभाविक विकास तथा कति सचेत छन् ? आज हामी संबैधानिक रूपमा समेत समाजवादउन्मुख राज्य व्यवस्था निर्माणको बाटोमा छौ । समाजवादउन्मुख राज्य व्यवस्थाको सामाजिक संस्कार तथा साँस्कृतिक सम्बन्ध कस्तो हुने हो ? त्यस दिशातर्फ राज्यको सचेत प्रयत्न जरूरी छ । नीतिगत हिसावले समाजवादउन्मुख तर व्यवहारमा सामन्तबादी आचरणले समाज विकास सुल्टो बाटोमा अगाडि बढ्न सक्दैन । हिजोको शासकले जनतालाई रैती करार गर्न, अलौकिकको आभास दिलाउन चलाएका कति रीति र परम्परालाई परिवर्तित राज्य व्यवस्थाले खारेज गर्न सक्नुपर्छ ।

बलिदानीपुर्ण आन्दोलनबाट प्राप्त सामाजिक व्यवस्थालाई सापेक्ष स्थायी बनाउन त्यसै अनुसारको सामाजिक आचरण, मर्यादा, नैतिकता तथा साँस्कृतिक सम्बन्धहरू निर्माण हुन जरूरी छ । त्यसको पहिलो सर्त समाजका सबै क्षेत्र र तहका नेतृत्वले बहुसंख्यक जनताले सहज आत्मसाथ गर्नसक्ने जीवनपद्धति अनुसरण गर्न जरूरी छ । बोली र व्यवहारको मिलनले मात्र सामाजिक मर्यादा कायम हुन सक्छ ।

[email protected]

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...