कोरोनाको आशंकामा अस्पतालले भर्ना लिन नमानेपछि विरामीको एम्बुलेन्समै मृत्यु

980 9808098

काठमाडौँ । कोरोनाको आशंकामा विराटनगरका अस्पतालले  भर्ना लिन नमानेपछि एक विरामीको एम्बुलेन्समै मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिकाबाट स १ च १२०५ नम्बरको एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगर ल्याइएका कटारी नगरपालिका ५ का २३ वर्षिय पदमबहादुर राईको मृत्यु भएको हो ।राईलाई शुक्रबार दिउँसो २ बजे विराटनगरको नोबेल शिक्षण अस्पतालमा पुर्याइएको थियो । तर अस्पतालले भर्ना लिन मानेन ।

श्वासप्रश्वासमा समस्या रहेको जानकारी गराएपछि उपचारका लागि लैजान भनेर स्ट्रेचरमा राखिसकिएका बिरामीलाई अस्पतालले त्यत्तिकै फिर्ता पठाएको एम्बुलेन्स चालक सुवास तामाङले बताए ।

नोबेलले भर्ना गर्न नमानेपछि शुक्रबार दिउँसो २ः३० बजे कोसी अस्पताल पुर्याइएको थियो । कोशीले भर्ना लिन नमानेपछि उनको कोशी अस्पतालको इमर्जेन्सी कक्षकै सामुन्ने एम्बुलन्समै मृत्यु भएको छ । बिरामी लिएर आएका श्रीमती कमला र बहिनी चमेली एम्बुलेन्समै निकै बेरसम्म बेहोस भएका थिए।

तर उनीहरुलाई समेत कोशी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले वास्ता गरेनन् । उदयपुरबाट एम्बुलेन्स लिएर आएका चालक सुवास तामाङले पौने तीन बजे बिरामी अस्पताल ल्याइपुर्याएपछि इमर्जेन्सी वार्डका स्वास्थ्यकर्मीहरुले भर्ना गर्न नमानेको बताए ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बिरामी आएपछि स्वास्थ्यकर्मीले चिकित्सकलाई जानकारी गराएपछि आइसोलेसनमा स्वाव संकलन गर्ने तयारीमा रहेकै समयमा बिरामीको मृत्यु भएको बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि पदमलाई बिहीबार कटारी अस्पतालमा भर्ना गरिएको थियो । उपचार सम्भव नहुने भन्दै कटारी अस्पतालले रेफर गरिदिएपछि विराटनगर ल्याइएको चालक तामाङले बताए ।

अस्पतालका कर्मचारी र चिकित्सकले एम्बुलेन्समा बिरामीको मृत्यु हुँदा तथा बिरामीका आफन्त बेहोस हुँदा पनि कुनै ‘रेस्पोन्स’ नगरेको चालक तामाङको गुनासो छ ।

प्रतिकृया दिनुहोस