पहिरोले घर पुरिँदा २ को मृत्यु, लमजुङमा १० घर पुरिए

Pahiro

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा स्याङ्जा र झापामा गरी २ जनाको मृत्यु भएको छ । पहिरोले लमजुङमा कम्तिमा १० घर पुरिएका छन् ।

स्याङ्जाको गल्याङ् नगरपालिका १० सिमलसौंरामा बुधबार बिहान गएको पहिरोले घर भत्केर पुरिंदा ५२ वर्षीया माया सारुको मृत्यु भएको हो । उनकी २० वर्षीया छोरी नारायणी सारु घाइते भएको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

आमा छोरी मात्र बसेको घर बिहान उठ्दा पहिरोले पुरिएको छिमेकीले देखेपछि उद्धारमा जुटेका वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पंगेनीले बताए । मृतकका पति रोजगारका लागि भारतमा छन् ।

यता, मंगलबार राति पहिरोले घर भत्किँदा झापाको बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा एक बालकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । राति साढे १० बजे पहिरो खस्दा मोतीडाँडाका तेजकुमार बराइलीको घर भत्काएको हो ।

टिनको छानो र इँटाको गारो भएको एक तले घर भत्किँदा बराईलीको घरमा पाहुना आएका मेचीनगर नगरपालिका ९ का १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले जानकारी दिए ।पहिरोले भत्काएको घरको पर्खालले विवेकलाई थिचेको थियो ।

माथिबाट पहिरोले समेत पुरिँदा बालकको घटनास्थलमै मृत्यु भएको डीएसपी थापाले बताए । राति नै स्थानीय र एक्स्काभेटरले पहिरो पन्छाएर बालकको शव निकालिएको थियो ।

पहिरोमा परी ७७ वर्षीया तिलमाया बराईली, २१ वर्षीया कल्पना र १९ वर्षीया पृष्टिना बराइली घाइते भएकी छिन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका छन् । पहिरो गएका घरका केही मानिस अघिल्लो दिनै सुरक्षित स्थानतर्फ गएका थिए । घरहरु पहिरोले पुरे पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार हाल नजिकै रहेको इलाका प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ । आफू पनि घटनास्थलतर्फ गइरहेको उनले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...