सोती घटनाका पीडितलाई विश्वकर्मा समाज युकेले दियो आर्थिक सहयोग

Jajarko bk samaj help

जाजरकोट । गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती घटनाका पीडित परिवारलाई विस्वकर्मा समाज युकेले आर्थिक सहयोग गरेको छ ।

सो घटनामा मारिएका ६ जनाको परिवार र सोही घटनामा परी घाइते भएका १२ जना युवाहरुलाई समाजले आर्थिक सहयोग गरेको हो । समाजले मृतकका परिवारलाई प्रति परिवार ४५ हजार र घाइतेहरुलाई प्रति व्यक्ति ७ हजारका दरले आर्थिक सहयोग गरेको हो ।

उनीहरुलाई भेरी नगरपालिकाकी कार्यपालिका प्रवत्ता पार्वती विकेको पहलमा विस्वकर्मा समाज युकेले ३ लाख ५४ हजार रुपैयाँ पठाएको थियो । सो रकमबाट मृतकका परिवार र घाइते युवाहरुलाई आर्थिक सहयोग गरिएको थियो । उनीहरुलाई सोती घटनाका पीडितको न्यायका लागि गठित संघर्ष समितिका संयोजक नगेन्द्र शाह र सहसंयोजक छवि पन्तले सो रकम हस्तान्तरण गरे ।

सोतीकी शुष्मा मल्लसँग प्रेम सम्बन्ध रहेकै आधारमा भेरी नगरपालिका वडा नं. ४ का नवराज विक र सन्दीप विक, गणेश वुढामगर, वडा नं. ११ का गोविन्द शाही र लोकेन्द्र सुनार र पश्चिम रुकुमको चौरजहारीका टीकाराम सुनार स्थानीयको कुटाईबाट मारिएका थिए । सो घटनामा परी सुदीप खड्का, लालवहादुर खड्का, मदन शाही, सुनील सुनार, महेश कार्की, विभाग पुन मगर, जीवन विक, सरोज भडेल, गोविन्द सुनार र भोला विसी घाइते भएका थिए ।

जातीय सदभाव र मानवता विरोधी घटनाको रुपमा लिइएको सोती काण्डका पीडितहरुलाई न्यायका लागि मात्र आफुहरुले सहयोग गरेको विश्वकर्मा कल्याणकारी समाज युकेका अध्यक्ष चन्द्रवहादुर सुनारले बताए ।

सो घटनामा संलग्न भएको आरोपमा २६ जना पुर्पक्षका लागि थुनामा छन् भने ४ जना फरार रहेका छन् । नवराजकी प्रेमिका भनिएकी शुष्मा मल्लकी आमा प्रकाशी मल्ललाई १ लाख धरौटी र अन्य तीन जनालाई साधारण तारेखमा छोडिसकिएको छ ।

प्रतिकृया दिनुहोस