रुपन्देही अपडेट : अंगिराका मुद्दामा ३ जनालाई थुनामा राख्न आदेश

Rupandehi district court angira pasi issue

बुटवल । रुपन्देही जिल्ला अदालतले देवदहकी १३ वर्षिया बालिका अंगिरा पासीको मुद्धामा पक्राउ परेका तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

बिहीबार भएको थुनछेक बहसमा जिल्ला न्यायधिश कृष्णप्रसाद पौडेलको एकल इजलाशले प्रतिवादी देवदह नगरपालिका का ११ बड्कीगुम्मीका २५ वर्षिय कोइला भन्ने विरेन्द्र भर, आमा ५० वर्षिया अकाली र ५५ वर्षिया ठूलीआमा शितलीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले ३ जनाविरुद्ध बलात्कार, जातीय भेदभाव र आत्महत्या दुरुत्साहन मुद्धा दर्ता गराएको छ । पीडितका तर्फबाट ४ जना सरकारी वकिल र १४ जना गरि १६ र प्रतिवादीका तर्फबाट २ जना अधिवक्ताहरुले थुनछेक बहसमा भाग लिएको स्राेतले जनाएकाे छ । 

बादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता डम्बरप्रसाद काफ्ले, सहन्यायधिवक्ता विष्णुप्रसाद भट्टराई डिल्लिराज ज्ञवाली, कमल कोइराला थुनछेक बहसमा सहभागी थिए ।

यसैगरि पीडितका तर्फबाट निःशुल्क रुपमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु शैलैन्द्रप्रसाद हरिजन, श्यामकुमार विश्वकर्मा, त्रिलोकचन्द विश्वास, सुन्दरबहादुर सेन, सूर्यराज अधिकारी, लोकनाथ पन्थ, गिरीजाबहादुर सुनार, युवराज रेग्मी, मनोज श्रेष्ठ, पदम कार्की र इन्दु अर्याल बहसमा भाग लिएका थिए । प्रतिवादीका तर्फबाट अधिवक्ता राममणि भूर्तेल र कुलानान्द ज्ञवालीले थुनछेक बहस गरेका हुन ।

देवदह ११ का २५ वर्षिय कोइला भन्ने विरेन्द्र भरले जेठ ९ गते जबरजस्तीकरणी गरेको, त्यसपछि विरेन्द्रसहित उनका आमा अकाली र ठूलीआमा शितलीले जातीय विभेद गरि अंगिरालाई आत्महत्या गर्ने अवस्थामा पुर्‍याएको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले तीन वटा मुद्धा अदालतमा पेश गरेको हो ।

जेठ १० गते जनप्रतिनिधि र समाजका अगुवाहरुले १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने विरेन्द्रको जिम्मा लगाइदिएपछि घटना भएको थियो ।

घटनामा संलग्नलाई कारवाही गर्न र न्यायको माग गर्दै ५ दिनदेखि भैरहवामा दलित अधिकारकर्मीहरुले आन्दोलन गर्दै आएका थिए । बिहीबार पनि जिल्ला अदालत अघि धर्नासहित अंगिराको न्यायको माग गरेको स्राेतले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस