कोरोना संक्रमित बढेपछि दशरथचन्द नगरपालिका असार १६ सम्म सिल

1028383

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङक्रमित बढ्दै गएपछि बैतडीको दशरथचन्द नगरपालिकालाई असार १६ गतेसम्म सिल गर्ने निर्णय भएको छ ।

नगरभित्र कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै नगरपालिकाले भोलीदेखि असार १६ गतेसम्म सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले जानकारी दिए । नगरपालिकाले आज एक सूचना जारी गर्दै अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्सलगायतका साधनहरु नरोकिकन आउजाउ गर्न सक्नेछन् ।

स्थानीय प्रशासन ऐन २०२८ को ६ (३) क र सङ्क्रामक रोग ऐन दफा २० बमोजिम नगरभित्र अत्यावश्यक सेवाबाहेक अन्य सेवामा पूर्ण रोक लगाइएको छ । सामाजिक दुरी कायम गर्दै औषधि पसल खोल्न पाइने, जन्ती र ब्रतबन्धमा १५ जनासम्म सम्मिलित हुन पाइने सूचनामा उल्लेख गरिएकोे छ ।

यस्तै नगरपालिकाभित्रका बैङ्क तथा वित्तीय संस्था हप्ताको ३ दिन आइतबार, मङ्गलबार र बिहीबार खोल्न सकिने छ ।  दशरथचन्द नगरपालिकामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २९ पुगेको छ ।

यसअघि जिल्लाको पाटन नगरपालिकाले पनि असार ८ गतेदेखि १५ गतेसम्मका लागि बजार क्षेत्र सिल गरेको छ ।  बैतडीका नौ वटै स्थानीय तहमा कोरोना सङ्क्रमण फैलिएको र जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ७२ पुगेको छ ।  
 

प्रतिकृया दिनुहोस