गलत विज्ञापन प्रसारण गरेर ग्राहक ठग्दै डिस होम

1569123061

काठमाडौँ । नेपालको एक मात्र विनातार सीधै ग्राहकका घरसम्म (डिटिएच) सेवा प्रदायक भनी जिकिर गर्ने डिस होम जोडेकाहरु टेलिभिजन राम्रोसँग हेर्न नपाएको गुनासो गर्छन् ।

डिटिएच प्रविधिबाट गुणस्तरीय दृश्य हेर्न सकिने बताउँदै आएको डिसहोम बादल लाग्नेबित्तिकै अवरुद्ध हुन्छ । पानी पर्न थालेपछि त झ्यार् झ्यार् भएर हेर्न सकिँदैन । कतिखेर त घाम लागेका बेलामा पनि सेवा अवरुद्ध हुने गरेको ग्राहक श्यामबहादुर तामाङले बताए ।

टिभी हेर्दाहेर्दै बीचमा अड्किने गर्दा ‘बेक्कारमा डिसहोम जोडेछु’ जस्तो लाग्न थालेको उनले सुनाए । कोरोनाको सङ्क्रमण फैलिएका बेला त्यसबारे जान्न समाचार हेर्न बस्दा पटकपटक टिभी बन्द हुने गरेको तामाङको अनुभव छ । डिसहोम जोडेका टिभी घण्टैपिच्छे झ्याप् झ्याप् हुने गरेको धेरै प्रयोगकर्ताको भनाइ छ ।

यो अनुभव तामाङको मात्र होइन डिसहोम जोड्ने धेरै ग्राहकको हो । आफैँ टिभी बन्द हुने र खुल्ने विशेषता पनि डिसहोमको छ । मासिक रु २५० मा टिभी हेर्न सकिने भनी विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन गर्ने डिसहोमले मासिक शुल्क भने ग्राहकबाट रु ३५० नै असुल्ने गरेको छ ।

ग्राहकले वार्षिक एकैपटक तिरे मात्र रु ३५० मा सेवा पाउँछन् । विज्ञापनको भाषाले भने वार्षिक एकैपटक तिरे मात्र रु २५० पर्छ भन्दैन । सो प्रविधिको माध्यमबाट धेरै टिभी च्यानल स्याटेलाइटबाट सीधै उपभोक्ताका घरमा पुग्ने जिकिर गरिए पनि सेवा गुणस्तरीय छैन ।

घरको छतमा सानो डिस र टिभीमा सेटअप बक्स जडान गरी आउने भनिएको सो टिभी सिग्नलका कारण समाचार, चलचित्रलगायत हेर्दाहेर्दै अड्किएपछि नमज्जा हुने गरेको दक्षिणकाली नगरपालिका फर्पिङका ग्राहक रामसुन्दर पौडेलले गुनासो गरे ।

सुगमदेखि दुर्गमसम्म लिन सकिने यो सेवाको गुणस्तर भौगोलिक विकटताका स्थानमा अझ कमजोर रहेको जडान गर्ने ग्राहकको गुनासो छ ।  नुवाकोटको दुप्चेश्वरमा डिसहोम जोडेकी माया तामाङ विज्ञापन गरे जति राम्रो सेवा पाउन नसकिएको दुःखेसो गर्छिन् । दुर्गममा पनि राम्रोसँग टिभी हेर्न सकिन्छ भनी डिसहोम जोडिए पनि त्यो पूरा नभएको उनको भनाइ छ ।

डिसहोम जडान गर्ने ग्राहकले शुरुमा एक महिनाको मात्र शुल्क तिर्दा नै कम्तीमा ४ हजार डिलरलाई बुझाउँछन् । त्यति पैसा बुझाएवापत ग्राहकले प्यान बिलसमेत नपाइएको जनाएका छन् ।  डिसहोमको गुनासो शाखाकी उर्मिशा भुजेलले पुरानो सेटअप भएका ग्राहकमा मात्र समस्या आएको जिकिर गरे ।

डिसहोम जोडेको महिना दिन नबित्दै समस्या आएको ग्राहक बताउँछन् । थप जानकारीका लागि कार्यालयका अरु अधिकारीलाई सम्पर्क गराउने उनले जिकिर गरे पनि सम्पर्क हुनसकेन ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...