सोती हत्या काण्डविरुद्ध चर्किदै आन्दोलन : सिठ्ठी जुलुसदेखि मसाल जुलुस गरिने, यस्तो संघर्षका कार्यक्रम

Dalit aandolan

काठमाडौं । पश्चिम रुकुमको सोतीसहित देशभर दलित समुदायमाथि भइरहेका जघण्य हत्याका विरुद्ध संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजले दोस्रो चरणको आन्दोलन गर्ने भएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै रुकुम पश्चिमको सोती नरसंहार, रुपन्देही देवदहकी १३ वर्षीया अंगिरा पासीको बलात्कारपछि हत्या प्रकरण र धनुषा सवैलाका २३ वर्षीया शम्भु सदाको हत्याकाण्डका दोषीलाई छिटोभन्दा छिटो कानूनी कारबाही, पीडितलाई न्याय र पीडित परिवारको सुरक्षाको माग गरेको छ ।

संयुक्त दलित राजनीतिक संघर्ष समिति र नागरिक समाजले सो घटनामा संलग्नहरुलाई कडाभन्दा कडा कारवाहीको दायरामा ल्याउन दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । दोश्रो चरणको आन्दोलनअन्तर्गत मंगलबार राजधानीको माइतीघरवाट वानेश्वरसम्म सिठ्ठी जुलुश गरेर शुरु गरिने जनाईएको छ ।

रुकुम पश्चिमको सोतीमा जेठ १० नवराज विकको हत्या भएपछि प्रेस विज्ञप्तीबाट सुरु भएको आन्दोलन दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो चरणमा समितिले चरणबद्ध रुपमा धर्ना र शोकसभा गरेको थियो भने गृहमन्त्री र सभामुखलाई ज्ञापन पत्र बुझाएको थियो ।

दोस्रो चरणको आन्दोलनअन्तर्गत मंगलबार सिठ्ठी जुलुससहित प्रदर्शन गर्ने, असार १० गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, ११ गते माइतीघर मण्डलाबाट लालटिन जुलुस प्रदर्शन गर्दै वानेश्वरमा सभा गर्ने, १२ गते राजनीतिक दलहरुका शीर्ष नेताहरुसँग सडक बहस गर्ने, १३ गते मसाल जुसुल गर्ने, १४ गते वृहत जनप्रदर्शन गर्ने र असार १५ गते अर्काे चरणको आन्दोलनबारे बैठक गर्ने बताइएको छ ।

सो पत्रकार सम्मेलनमा उनीहरुले यी तीनै घटनाको बारेमा सत्य, तथ्य छानबिन भएर दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने माग अघि सारेका छन् । रुकुम घट्नाको पोष्टमार्टम रिपोर्टको पनि समितिले घोर भत्र्सना गरेको छ । उक्त रिपोर्ट हेर्दा आफूहरुलाई ठूलो पीडा भएको उनीहरुको भनाई छ ।

६ जना युवाहरुलाई कुटी कुटी निर्ममतापूर्वक हत्या गरिएको उनीहरुको ठहर छ । तर, प्रहरीले घट्नाको प्रमाण नष्ट गरेको र पोष्टमार्टममा संलग्न चिकित्सकलेपनि गलत रिपोर्ट बनाएकोमा उनीहरुले दुवैको भत्र्सना गर्दै यसमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य संविधानसभा सदस्य जीवन परियार, नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद लक्ष्मी परियार, जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङ, नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र छतुञ्जेल, जातीय समता समाजका भक्तबहादुर विश्वकर्मा र नेपाल दलित मुक्ति मोर्चाका सचिवालय सदस्य राम नपालीले यी तिनै घट्नामा संलग्न दोषीहरुलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन राज्यसँग माग गरे ।

कार्यक्रममा समाजवादी दलित मुक्ति महासंघको महासचिव रणबहादुर रम्तेल प्रेस विज्ञप्ती र साझा पार्टीका सामाजिक न्याय विभागका प्रमुख प्रकाशचन्द्र परियारले अपिल वाचन गरेका थिए ।

प्रतिकृया दिनुहोस