भारतले अचानक किन बोलायो विदामा बसेका गोर्खा सैनिकलाई ?

China vs india army

काठमाडौं । नेपालको दुई ठूला छिमेकी मुलुक भारत र चीनबीच सीमा क्षेत्रमा पटकपटक झडप हुने गरेको छ । यो पटक त गोली हानाहान नै भएको छ ।

चिनियाँ सेनासँगको झडपमा गरी ३४ भारतीय सैनिक वेपत्ता भएका छन् । पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपमा १ कर्णेलसहित ३ जनाको मृत्यु भएको छ । भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले ३४ जनाभन्दा बढी वेपत्ता रहेको समाचार प्रकाशित गरेको छ ।

त्यसैगरी भारतीय अनलाइन पत्रिका नवभारत टाइम्सले लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेनासँग भएको झडपमा कम्तिमा २० सैनिकको मृत्यु भएको जनाएको छ ।

सीमामा दुवै देशका सेनावीच तनाव बढेपछि चिनियाँ उपविदेशमन्त्री लुओ झाओहुई र चीनका लागि भारतीय राजदूत विक्रम मिसरीबीच भेटवार्ता भएको छ । चीनले सीमा क्षेत्रमा तनाव वढेसंगै तिब्बतमा ठुलो संख्यामा अत्याधुनिक हतियार र टयांकसहित सेना परिचालन गरेको छ ।

भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु भएको हुनसक्ने वा चिनियाँ सेनाको नियन्त्रण परेको हुनसक्ने बताएका छन् । तर, भारतले यस विषयमा अहिलेसम्म औपचारिक जानकारी दिएको छैन । रक्षामन्त्री राजनाथ सिंह र सुरक्षा निकायका प्रमुखहरुबीच दिनभर बैठक भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने यस बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

चिनियाँ र भारतीय सेनाबीच धकेलाधकेल हुँँदा आफ्ना सैनिक भीरबाट खसेको भारतीय अधिकारीको दावी छ । तीन भारतीय सेनाको मृत्युसँगै भारत र चीनको सम्बन्धमा दरार उत्पन्न भएको छ । भारतीय विदेश मन्त्रालयले चिनियाँ पक्षले सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सेनाका सवै गतिविधी लाइन अफ एक्चुअल कन्ट्रोलभित्र रहेको दावीसमेत गरेका छन् ।

भारतले सीमा क्षेत्रमा शान्ति कायम राख्न र असमझदारी संवाद हल गर्नुपर्ने आवश्यकताप्रति विश्वस्त रहेको जनाएको छ । भारत आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न प्रतिवद्ध रहेको भारतिय विदेमन्त्रालयको वक्तव्यमा उल्लेख छ ।

यता, चिनियाँ विदेश मन्त्रालयले पनि भारतिय पक्षले समझदारी पालना नगरेको, चीनलाई उत्तेजित बनाएको र भारतीय सेनाले सीमा रेखा पार गरेको आरोप लगाएको छ । चीनसँग लद्दाखमा युद्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएका थिए । तर, चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको हो ।

भारतको रक्षामन्त्री राजनाथ सिंहले चीनसँग युद्धको स्थिति बनेसँगै गोप्य बैठक बोलाएका छन् जसमा चीफ अफ डिफेन्स स्टाफ विपीन रावत र अन्‍य अधिकारीहरु सहभागी छन् । भारतीय विदेशमन्त्री एस जयशंकर समेत बैठकमा सहभागी छन् ।

सोमबार रुपन्देहीको बेलहिया नाकाबाट भारतीय सेनामा भर्ती भएका १८ जना गोर्खा रेजिमेन्ट सैनिकहरु भारत प्रवेश गरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जानकारी दिएका छन् ।

उनले भने, ‘केही दिनयता भारतीय सेनामा भर्ती भएका नेपालीहरु भारत जाने क्रम बढेको थियो । आज पनि गइरहेका छन् । आज कति जना गए भन्ने तथ्यांक बेलुका ७ बजेसम्म आउँछ ।’

दुई दिनदेखि गोर्खाली सेना नेपालबाट भारत प्रवेश गर्न थालेको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेका छन् । नेपाल–भारत बोर्डरमा उनीहरूको थर्मल स्क्यानिङ भएको थियो ।

भारतीय सेनामा १ लाखको हाराहारीमा नेपाली कार्यरत छन् । गोर्खा रेजिमेन्टअन्तर्गत भारतीय सेनामा कार्यरत नेपालीहरू सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि चीन र पाकिस्तानसँग जोडिएको नाकामा अत्याधिक मात्रामा कार्यरत छन् ।

भारतमा नेपाली सेनाको उपस्थिति सन् १८१५ देखिको मानिन्छ, जब ब्रिटिश सत्तासँग नेपालको कुमाउँमा हार भएको थियो । सन् १९४७ मा ब्रिटिश शासकले भारतलाई सत्ता सुम्पिएर जाँदा गोर्खाली सेनाको चार रेजिमेन्ट आफूले र भारतलाई ६ रेजिमेन्ट छोडेर गएका थिए । त्यो बेलादेखि नै नेपालीहरू भारतीय सेनामा कार्यरत छन् ।

प्रतिकृया दिनुहोस