नेपाली भुमी मिचेको विषयमा क्वात्रालाई नेपालले थमायो कूटनीतिक पत्र

Indian embasodar gyawali vet

काठमाडौं । सरकारले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा कूटनीतिक नोट दिएको छ ।

सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत क्वात्रालाई बोलाएर नेपाली भुमी मिचेर सडक निर्माण गरेको विषयमा कूटनीतिक पत्र थमाएको हो  ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले एकतर्फी सडक निर्माण लगायतका गतिविधि गरेकामा राजदूत क्वात्रालाई कुटनीतिक नोट दिएका थिए ।

यस विवादमा भारतीय पक्षसँग उच्चस्तरीय वार्ताको लागि पहल भइरहे पनि भारतले कोभिड-१९ को संकटपछि मात्रै यसबारे कुराकानी गर्ने भनेर पन्छिँदै आएको छ ।

गत शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए । नेपाल सरकारले त्रिदेशीय सीमा क्षेत्रमा पर्ने लिपुलेकका विषयमा उत्तरको छिमेकी चीनसँग पनि छलफल गर्ने तयारी गरेको छ ।

नेपाल सरकारले यसअघि विज्ञप्ति निकालेर भारतीय हस्तक्षेपविरुद्ध आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डुले पनि संयुक्त विज्ञप्ति निकालेर भारतले नेपालको सार्वभौमिकतामा हस्तक्षेप गरेको जनाएका थिए ।

 

प्रतिकृया दिनुहोस