सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीको दौडधुप तीव्र, के होला सचिवालयको बैठकपछि नेकपाको अवस्था ?

Kp oli prachanda vet 20

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक बस्नुअघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गोप्य छलफल भएको छ । यसअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

शनिबारको सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने धेरैको आशंका छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपाल समूहले ओलीलाई सरकारबाट राजीनामा गर्न दवाव दिने र पार्टीको मुख्य भूमिकाबाट हटाउने तयारी गरिरहेको बेलामा प्रधानमन्त्री ओलीले भने दुवै पद नछोड्ने भएका हुन् ।

शनिबार अपरान्ह चार बजेका लागि बोलाइएको सचिवालयको बैठक साढे पाँच बजेका लागि सारेर ओलीले त्यसबीचमा अन्य नेताहरुसँग परामर्श गरेका थिए ।

उनी राष्ट्रपतिसँग भेट गरी फर्किने बित्तिकै सचिवालय बैठक अगावै प्रमसँग एक्लाएक्लै बैठकका लागि बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रमबीच केहिबेर छोटो भेटवार्ता भएको छ । भेटमा के कुरा भयो भन्ने जानकारी भने दिइएको छैन । त्यसपछि दुबै अध्यक्ष सचिवालय बैठकमा सहभागी भएका थिए ।

सचिवालय बैठक बस्नु अघि प्रधानमन्त्री ओलीले आजै उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री थापासँग भेटवार्ता गरेका थिए । उनीहरु दुवैले ओलीलाई समर्थन गर्न सकारात्मक भएको स्रोतको भनाइ छ । यद्यपि शीर्ष नेताहरुको दौडधुप धेरै भएका कारण आजै निष्कर्ष आउने सम्भावना कम रहेको बताइन्छ ।

प्रतिकृया दिनुहोस