जनता समाजवादी दल दर्ता नगर्न सत्ता पक्षकै नेताले गरे उजुरी

Dal darta ujuri

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको दल दर्ता रोक्न सत्तारुढ नेकपाकै नेताहरुले निर्वाचन आयोगमा उजुरी गरेका छन् ।

नेकपा निकट राष्ट्रिय युवा संघका नेता अमित लामाले निर्वाचन आयोगमा पुगेर राष्ट्रिय अखण्डता र परराष्ट्र सम्बन्धमा आँच आउने भएकाले नयाँ दल जसपा दल दर्ताको निवेदन स्वीकार नगर्न आइतबार उजुरी दिएका हुन् ।

युवासंघका केन्द्रीय सदस्य अमित लामा र अधिवक्ता विपिन ढकालको उजुरी दर्ता गर्ने क्रममा संघका केन्द्रीय सहसंयोजक रमेश पौडेल पनि निर्वाचन आयोगमा पुगेका थिए ।

प्रस्तावित दल जसपाले प्रस्ताव गरेको झण्डा अफ्रिकी मुलुक बुर्किना फासोको राष्ट्रिय झण्डासँग मेल खाएकाले परराष्ट्र सम्बन्धमा प्रतिकूल असर गर्ने र संयुक्त राष्ट्रसंघको बडापत्र विपरीत भएकाले त्यस आधारमा समेत दल दर्ता रोक्न माग गरिएको छ ।

संविधानको मर्म र भावना विपरीत छुट्दै देशको अर्थ झल्किने गरी दल दर्ताको प्रस्ताव गरिएकोले संविधानको धारा २६९ विपरीत रहेको सो दल दर्ता प्रक्रिया रोक्न निवेदनमा माग गरिएको छ । जसपाले नेपाल बहुराष्ट्रिय राज्य कायम गर्ने भनेको र सो कुरा मुलुकको संविधान तथा राष्ट्रिय अखण्डताको विपरीत रहेको निवेदनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस