‘पार्टी र पार्टी कमिटिलाई बाइपास गर्न हुन्न भनेको हुँ’

‘उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्‍नुभयो, थोरै बोल्नुभयो । म बिदा भएर आएँ । भएको यति हो’

Bamdev gautam

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुले सत्ता सञ्चालनमा सहकार्य गर्न सुझाव मात्र दिएको स्पष्टिकरण दिएका छन् ।

शनिवार प्रधानमन्त्रीसँग गौतमको विवाद भएको भनिएको भनिएको थियो । तर गौतमले आइतवार एक प्रेस नोट जारी गर्दै प्रधानमन्त्री ओली र आफूबीच बालुवाटारमा भएको भनिएको विवादबारे स्पष्टीकरण दिएका छन् ।

उनले हस्तलिखित उक्त प्रेस नोटमा आफू र प्रधानमन्त्रीबीच भएको कुराकानीलाई मनमौजी ढंगले समाचार बनाएर टिकाटिप्पणी गरिएको गुनासो पनि गरेका छन् ।

गौतमले पार्टीभित्र र सरकार संचालनमा उत्पन्न भएका समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर नहुने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको प्रष्ट पारेका छन् ।

उनले सचिवालय, स्थायी कमिटी र आवश्यक परेमा केन्द्रीय कमिटीको बैठक बोलाउन आफूले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको जनाएका छन् । ‘सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् भनेको हुँ, उनले भनेका छन्, ‘सबैभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्‍नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ ।’

‘हिजो (१३ गते) प्रधानमन्त्री केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ’, उनले भनेका छन्, ‘पार्टीभित्र, पार्टी र सरकारबीच, अनि अन्य पार्टी र सरकारबीच उत्पन्‍न समस्या समाधान कसरी गर्ने भन्‍ने सम्बन्धमा छलफल भएको थियो ।’

‘समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्‍न भएका छन्’ उनले भनेका छन्, ‘यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई ुबाइपासु गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ भनेको हुँ ।’

गौतमले आफूले राखेका कुरा प्रधानमन्त्रीले धैर्यताका साथ सुनेको पनि बताएका छन् । ‘उहाँ (ओली) ले धैर्यतापूर्वक मेरो सल्लाह सुन्‍नुभयो, थोरै बोल्नुभयो’, उनले प्रेस नोटमा उल्लेख गरेका छन्, ‘म बिदा भएर आएँ । भएको यति हो ।’

प्रतिकृया दिनुहोस