सातै प्रदेशले ल्याए बजेट, प्रदेश २ ले ल्यायो ‘बेटी बचाऊ बेटी पढाऔं’ अभियान

काठमाडौं । सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेशसभामा २८ अर्ब १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरे । 

जसमा चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार बजेट विजियोजन गरिएको छ ।

यता, कर्णालीमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब भन्दा बढीको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि प्रदेश सरकारले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो । यो चालु आर्थिक वर्षको बजेटभन्दा ६ अर्बले बढी हो ।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले २८ अर्बको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये पुँजिगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ । चालुतर्फ १३ अर्ब पाँच करोड ९६ लाख ५३ हजार रकम विनियोजन गरिएको छ । 

प्रदेश ३ सरकारले नयाँ आर्थिक वर्ष २०७६/७७ को लागि ४७ अर्ब ६० करोड ८८ लाख ८६ हजार रुपैयाँ बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ कुल बजेटको ५१ दशमलव ३९ प्रतिशत अर्थात २४ अर्ब ४६ करोड ८९ लाख ९० हजार रुपैयाँ बिनियोजन गरे । 

पूँजिगततर्फ कुल बजेटको २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात ४७ दशमलव ९८ प्रतिशत बजेट छुट्याइएको छ। आर्थिक मामिलामन्त्री ढुङ्गेलले वित्तीयतर्फ कुल बजेटको ३ दशमलव ६३ प्रतिशत अर्थात ३० करोड रुपैयाँ बिनियोजन गरेका छन् । 

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कर राजश्व १५ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ उठ्ने अनुमान गरेको छ । अन्तर सरकारी अनुदानबाट १८ अर्ब ६ करोड १३ लाख, अन्य राजश्व सात अर्ब ३० करोड, राजश्व बचततर्फ ६ अर्ब ७५ करोड १६ लाख ८६ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

प्रदेश २ को सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गरेको छ । बुधबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादले ३८ अर्ब ७२ करोड  ५६ लाख बजेट प्रस्तुत गरेका हुन् । 

प्रदेश २ ले सबैभन्दा बढी २९ करोड रुपैयाँ रकम ‘बेटी बचाऊ बेटी पढाऔं’ अभियानका लागि विनियोजन गरेको छ । सँगै प्रदेश सरकारले संघीय सरकारसँगको सहकार्यमा प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाका लागि ४९ करोड बजेट छुट्याएको छ । सँगै मुख्यमन्त्री कृषि उत्थानका लागि २० करोड रकम विनियोजन भएको छ ।

प्रदेश १ सरकारले आइतबार प्रदेशसभामा आउँदो आर्थिक वर्ष ०७६/७७ का लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजार बजेट ल्याएको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ ।

प्रतिकृया दिनुहोस