१३१५ अंकमाथि उक्लियो शेयर बजार, कसको कति बढ्यो ?

काठमाडौं । आइतबारदेखि बढेको शेयर बजारले मंगलबार बर्ष दिनयताकै उच्च बिन्दु हाराहारीमा उक्लिएको छ । कारोबार दिनमा सूचक २४ अंकले बढ्दा मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक बढेको हो । 

गत बर्ष जेठ १६ गते बजार १३२२ अंकमा थियो। त्यसयता घट्दो क्रममा रहेको बजारले मंगलबार बर्ष दिनयताकै उच्चतम बिन्दुलाई भेट्टाएको हो । मंगलबार बजार १३१५ अंकमाथि उक्लिएको छ । 

मंगलबारको बजारमा सबैभन्दा धेरै निर्जीवन समूहको सूचक उकालो लाग्नुले पनि यस्तो संकेत गर्छ । वित्तीय विवरण आउनु अगावै बढ्न थालेको शिवम् सिमेन्टको शेयर मूल्य विवरण प्रकाशन गरेपछि पनि लगातार बढेको छ ।

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर एक अर्ब भन्दा बढीको करोबार भएको छ । वेबसर्फरको फाइबरमा समस्या आउँदा नेप्से वेबसाइटमा डिस्प्ले देखिएको थिएन । तर कारोबार भने भएको थियो ।

यस दिन नेप्से १४.१२ अंकले बढेर १३१५.४५ विन्दुमा पुगेको छ । १७० कम्पनीका ३१ लाख ६६ हजार कित्ता शेयर एक अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो रकम सोमबारको तुलनामा २८ करोड ८ लाख रुपैयाँले बढी हो । सोमबार ७८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार करोबारमा आएका १२ उपसमुह मध्ये व्यापार समुहको सूचक मात्रै ०.१७ अंकले नकारात्मक भएको छ भने बाँकी ११ उपसमुहको सूचकमा हरियाली छाएका हुन् ।

निर्जीवन बीमाको सूचक सबै भन्दा धेरै १४५.८४ अंकले सुधार भएको छ । यस्तै उत्पादन तथा प्रशोधन ८४.७१, जीवन बीमा ४३.०८, होटल १७.५७, वाणिज्य बैंक १४.१४, विकास बेंक ११.६, माइक्रोफाइनान्स ९.५, फाइनान्स २.६९, हाइड्रोपावर २.५९, म्युचुअल फण्ड ०.०९, अन्य ०.०८ अंकले सकारात्मक बनेका हुन् ।

मंगलबार नेपाल बैंकको शेयर अधिक मात्रामा कारोबार भएको छ । बैंकको मात्रै १० करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै शिवम् सिमेन्टको ८ करोड ४१ लाख, कृषि विकास बैंकको ७ करोड ८३ लाख, एनसीसी बैंकको ५ करोड ४९ लाख, प्राइम कर्मशियल बैंकको ४ करोड ७१ लाख, अपर तामाकोशीको ३ करोड १५ लाख बराबरको कारोबार भएको छ ।

एनएमबी बैंक, जनता बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर पनि २ करोड रुपैयाँ भन्दा बढीको करोबार भएको छ । राष्ट्रिय बीमा कम्पनीको संस्थापक र सर्वसाधारण दुबै समुहको शेयरमूल्य र शिवम् सिमेन्टको शेयरमूल्यमा सर्किट लागेको छ भने सूर्योदय लघुवित्तका शेयरधनीले ७ प्रतिशत बढीले गुमाएका छन् ।

राष्ट्रिय बीमा कम्पनीको सर्वसाधारण शेयरमूल्य १० प्रतिशत र संस्थापक शेयर ९.९९ प्रतिशतले बढेको हो । यता शिवम् सिमेन्ट शेयरधनीहरुले पनि आजको कारोबारबाट ९.८६ प्रतिशतले कमाएका छन् । भार्गव विकास बैंकको शेयरमूल्य ८.१५, कृषि विकास बैंकको ७.७७, कर्पोरेट डेभलपमेन्ट बैंकको ७.१४, ओरेन्टल होटलको ६.४२ र युनाईटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ६.०६ प्रतिशतले बढेको हो ।

यता सूर्योदय लघुवित्तको शेयरमूल्य ७.५५ प्रतिशत घट्दा जोशी हाइड्रोपावरको शेयरधनीले ५ प्रतिशतले गुमाएका छन् । यस्तै सर्पोट माइक्रोफाइनान्स, ग्लोवल आईएमई समुन्नत स्किम १ को इकाई मूल्य, समिट माइक्रोफाइनान्स, माउन्टेन हाइड्रो नेपाल, कालिका लघुवित्त, सिर्नीजी पावर, एचआईडिसीएल, छाङदी हाइड्रोपावरको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

प्रतिकृया दिनुहोस