अर्काे ओरेन्टियल बन्ने गलत बाटोमा सिभिल सहकारी

ऐन विपरित सिभिल होम्समा ८ अर्ब १३ करोड लगानी

काठमाडौं । उपत्यकामा सञ्चालित अधिकांश बचत तथा ऋण सहकारी संस्थाले उठाएको निक्षेपको ठूलो हिस्सा घरजग्गामा लगानी गरेकाले र पछिल्लो समयमा सरकारले घरजग्गा कारोबारमा कडाइ गरेसँगै त्यस्ता लगानी खतरामा परेका छन् । त्यही सुचीमा पर्छ सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ पनि ।

रियल स्टेट व्यवसायमा घाटामा छैन । तर, सिभिल होम्सको कागजी घाटा हरेक वर्ष बढेको छ । लेखा परीक्षण प्रतिवेदनअनुसार उसको ऋणको वार्षिक ब्याज एक अर्ब २६ करोड रुपैयाँ छ ।

सहकारी ऐन २०७४ अनुसार कुनै पनि सहकारीले कुल पुँजीकोषको १० प्रतिशतभन्दा बढी कर्जा एकै व्यक्तिलाई दिन र संस्थालाई ऋण दिन पनि मिल्दैन । सिभिलले सर्वसाधारणको निक्षेप बटुलेर आफ्नो व्यापारमा अर्बौं प्रयोग गरिरहेको छ । सहकारी ऐन २०७४ मा कम्पनी ऐनबमोजिम मुनाफा आर्जन गर्ने उद्देश्यले स्थापित कम्पनीहरू सहकारीको सदस्य हुन नपाउने व्यवस्था छ । सदस्य नै हुन नसक्ने कम्पनीलाई ऋण प्रवाह गरेकामा सदस्यहरू रुष्ट छन् ।

सहकारी संघसंस्था दर्ता, सञ्चालन, लेखापरीक्षण, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड २०६८ अनुसार घरजग्गा कर्जामा २५ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नमिल्ने मापदण्ड सहकारीले उल्लंघन गरेको छ । स्वार्थ जुध्ने गरी उही सञ्चालक भएको अवस्थामा ऋण प्रवाह गर्न मिल्दैन । 

तर, सिभिल ग्रुपका अध्यक्ष तामाङले आफू सहकारी संस्थाको अध्यक्ष भएकै बेला रियल स्टेटमा कर्जा दुरुपयोग गरेका हुन् । उनी दुई कार्यकाल अध्यक्ष थिए । पेसाले इन्जिनियर तामाङ सहकारी अध्यक्ष, रियलस्टेट व्यवसायी र सिभिल बैंकका प्रवद्र्धक हुन् । उनी अघिल्लो पटक सांसदसमेत थिए । हाल सो सहकारीमा केशवलाल श्रेष्ठ अध्यक्ष छन् । 

सिभिल सहकारीले सिभिल होम्सलाई ७ अर्ब १ करोड ३७ लाख ११ हजार २ सय ११ रुपैयाँ कर्जा प्रवाह गरेको छ  । सहकारीले २०७४ मा ५ अर्ब ७६ करोड ७८ लाख २ हजार ५ सय १७ रुपैया लगानी गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा १ खर्ब २४ करोड ५९ लाख ८ हजार ६ सय ९४ रुपैयाँ बढी हो । 

आर्थिक वर्ष २०७४/७५ को अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार सिभिल सहकारीले कुल ८ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । त्योमध्ये सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि, सिभिल इस्टेट प्रालिमा गरी ७ अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको छ । जब कि सिभिल सहकारीको सेयर पुँजी ३१ करोड २४ लाख रुपैयाँ मात्र छ ।

पछिल्लो सिभिल होम्सलाई कर्जा प्रवाह गरेको ७ अर्ब १ करोड ३७ लाख रुपैयाँ समग्र कर्जाको अनुपातको ८३ दशमलव ९८ प्रतिशत हुन्छ  । सिभिल सेभिङ एन्ड को–अपरेटिभ लिमिटेडले आफ्नै समूहको सिभिल अपार्टमेन्टलाई ३४ करोड ६७ लाख रुपैयाँ र त्यही समूहको सिभिल स्टेटलाई ६ करोड ६८ लाख रुपैयाँ कर्जा दिएको छ । धितोबाट कर्जा उठाउने सम्भावना अत्यन्त कम छ  ।

सिभिल होम्सको वासलातअनुसार ८६ करोड ३९ लाख ३७ हजार आठ सय ७७ रुपैयाँ अग्रिम बुकिङबापत रकम लिएको देखिन्छ । तर उसले लामो समयदेखि बुकिङकर्तालाई हाउजिङ उपलब्ध गराएको छैन । सिभिल होम्स प्रालिले ६ वर्षदेखि परियोजनासमेत सञ्चालन गरेको छैन ।

लाखौं निक्षेपकर्ताको निक्षेप संकलन गरेर डुब्न लागेको रियल स्टेट र सिभिल होम्समा अबौं रकम लगानी गर्दा निक्षेपकर्ता आफ्नो निक्षेप डुब्ला भन्ने चिन्तामा छन् । त्यही भएर केही निक्षेपकर्ताले त सहकारी डिभिजन कार्यालयमा उजुरीसमेत दर्ता गराइसकेका छन् । 

निक्षेपकर्ताले उजुरी दर्ता गराएको भए पनि सिभिल सहकारीले निक्षेकर्तालाई निक्षेप नडुब्ने आश्वास्त पार्न सकेको छैन । यसरी अबौं रुपैया सिभिल होम्समा लगानी गर्दा अर्काे ओरेन्टियल प्रकरण दोहोरिने चिन्ता पनि थपिएको छ । 


प्रतिकृया दिनुहोस