मेलम्चीको ठेकेदार कम्पनी सीएमसी १८ करोड कर नतिरी भागेको खुलासा

सीएमसीको ठेक्का जमानत बापतको २ अर्ब ५६ करोड सरकारको खातामा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग र हेडवर्क्स निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएमसी आफुले तिर्नुपर्ने कर नतिरी भागेको खुलासा भएको छ ।  कोअपरेटिभा मुराटोरी ई केमेन्टिस्टी (सीएमसी)ले आर्थिक संकट देखाउँदै मेलम्ची आयोजना बीचैमा छाडेको थियो । सिएमसीले ठूला करदाता कार्यालयमा बुझाउनुपर्ने करिब १८ करोड बराबरको कर नतिरेको खुलेको हो ।

ठूला करदाता कार्यालयले सीएमसीलाई कर तिर्न आउन आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको कार्यालयका प्रमुख धनिराम शर्माले बताए । उनले भने, हामीले आव २०७१/७२को कर तिर्न आउन आह्वान गरेका हौं, उसको करिब १८ करोड बराबरको कर निर्धारण भएको छ ।’

यो आय कर र मूल्य अभिवेद्धि कर (भ्याट) हो । त्यसपछिका वर्षको भने कर निर्धारण हुनै बाँकी छ । कम्पनी नै भागेका कारण अब कर असुल्न गाह्रो पर्ने अधिकारीहरु बताउँछन् ।

सीएमसी भागेपछि कार्यालयले मेलम्ची खानेपानी विकास समितिलाई पत्र लेख्दै उसका नाममा कुनै बैंक खाता र जमानत भए रोक्का राख्न पत्राचार गरेको छ । तर, उसको नाममा कतै बैंक खाता रहे/नरहेको बारे ठूला करदाता कार्यालय जानकार छैन ।

सीएमसीलाई पनि पत्र लेख्दै कार्यालयले १५ दिनभित्र कर दाखिला लगर्न आग्रह गरेको छ । तर, सीएमसीले अहिलेसम्म त्यसको जवाफ पनि फर्काएको छैन ।

कार्यालयले कर निर्धारण चित्त नबुझे आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनका लागि निवेदन दिन आग्रह गरेको छ । सरकारले सीएमसीले ठेक्का जमानतबापत राखेको २ अर्ब ५६ करोड आफ्नो खातामा ल्याएको छ । कम्पनी वित्तीय संकटमा फसेपछि सीएमसीले मेलम्चीको साइट छाडेको थियो ।


प्रतिकृया दिनुहोस