प्रदेश नं. २ पुगेर गृहमन्त्री बादलले यसरी किन पोखे असन्तुष्टी ?

जनकपुरधाम । देश संघीयतामा गएपछि अधिकार बाँडफाँडमा केन्द्र र प्रदेशबीच जुहारी चल्दै आएको छ । त्यसमा पनि प्रदेश नं. २ ले संघीय सरकारको आग्रह विपरित कहिले संघीय प्रहरी भर्ना गरेर त कहिले छुट्टै कानुन बनाएर केन्द्र सरकारलाई टक्कर दिँदै आएको छ । 

पछिल्लो समयमा प्रदेश नं. २ प्रति केन्द्र सरकार सशंकित बन्दै आएको छ । त्यसैको परिणाम हो गृहमन्त्री रामबहादुर थापा बादलको प्रदेश सरकारप्रतिको गुनासो । गृहमन्त्री ‘बादल’ ले प्रदेश २ सरकारले आफ्नै प्रमुख जिल्ला अधिकारी राख्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । संविधानमै नभएको व्यवस्था गरेर प्रदेश २ सरकारले आफ्नै सिडिओ राख्न खोजेको गृहमन्त्रीको आरोप छ ।

‘संविधानमै यस्तो व्यवस्था छैन’ प्रदेशले कसरी नियुक्त गर्छ ?’ थापाले भने, ‘संविधानअनुसार काम हुनुपर्‍यो ।’ उनले प्रदेश प्रहरी प्रमुख र मातहतका सबै प्रहरी अधिकारी प्रदेश सरकारकै मातहतमा रहने बताए ।‘प्रमुख जिल्ला अधिकारी संघीय सरकारको मातहतमा रहेर समन्वय गर्ने हो’ उनले भने, ‘प्रदेशले प्रमुख जिल्ला अधिकारी राख्ने व्यवस्था संविधानमा छैन । प्रदेश २ ले कसरी राख्ने हो मलाई थाहा भएन ।

‘प्रदेशको सुशासन र शान्ति सुरक्षाको अधिकार संघीय सरकारले खोसेको छैन’ उनले भने, ‘प्रदेशको आफ्नो छुट्टै प्रदेश प्रहरी हुने र एसपीदेखि तल सबै सुरक्षा व्यवस्था प्रदेश सरकारकै मातहतै रहनेछ ।’ थापाले प्रमुख जिल्ला अधिकारी संघीय सरकारको प्रतिनिधि हुने भन्दै उनको दोहोरो भूमिका हुने बताए । प्रदेश सरकारले आफ्नै समानान्तर अधिकारी राख्न नपाउने थापाले बताए ।

प्रदेश २ स्तरीय सुरक्षा गोष्ठीमा भाग लिन जनकपुरधाम आएका गृहमन्त्री थापाले प्रदेशले आफ्नै सिडिओ राख्ने व्यवस्था संविधानमै नभएको बताए । प्रदेश २ सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले संविधानै अनुसार आफ्नै सिडिओ राख्ने विधेयक तयार पारिएको बताइरहेका बेला जनकपुरमै आएका गृहमन्त्रीले यसको संविधानमै व्यवस्था नभएको बताए ।

 बादलले छिट्टै नै प्रदेश प्रहरीदेखि जिल्ला प्रहरी कार्यालयसमेत प्रदेश सरकारको मातहतमा जाने स्पष्ट पार्दै प्रदेश प्रहरीसम्बन्धी विधेयक संसदमा प्रस्तुत भइसकेकाले हरेक प्रदेशले आफ्नो सुरक्षा संयन्त्र बनाउन सक्ने बताए ।

गृह मन्त्रालयको वार्षिक कार्यक्रमअनुरूप प्रदेश २ को जनकपुरधाममा प्रदेशस्तरीय सीमा सुरक्षा बैठकमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार सुरक्षाविद् प्राडा। इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदी, सहसचिव इन्दु घिमिरेलगायत उपस्थित रहेका छन् ।

गोष्ठीमा प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, सीमा सुरक्षा छलफल, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एव्म आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल गरिएको थियो ।


प्रतिकृया दिनुहोस