गुल्मीको दजाकोटमा झाडा पखलाको माहामारी फैलिँदै, अझै नियन्त्रणमा आउन सकेको छैन

गुल्मी । केही दिनदेखि फैलिएको झाडा पखलाले गुल्मीको सिंगो गाउँ नैै संकटमा परेको छ । सोमबार ४ जनाबाट फैलिएको झाडा पखलाले महामारीको रूप लिएको हो ।

झाडापखालाले बिहीबार बेलुकीसम्म मुसिकोट नगरपालिका–४ मा रहेको दजाकोटमा ९८ जना बिरामी परेकोमा त्यो संख्या बढेर १ सय ४ पुगेको छ । ४ जनाको अवस्था गम्भीर छ ।

दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । बिरामी पर्नेमा ४ वर्षदेखि ८० वर्ष उमेरसम्मका व्यक्ति रहेका छन् ।

गाउँको ५ किलोमिटर टाढाको ट्यांकीमार्फत ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी अचानक दूषित बनेका कारण त्यहाँका स्थानीयमा सामान्यरूपमा झाडापखालाको लक्षण देखिएको थियो । स्थानीयले पानी उमालेर खाँदा पनि समस्या समाधान नभएपछि सो गाउँमा शुक्रबारदेखि ट्यांकरमा पानी बोकेर खानेपानी वितरण गर्न थालिएको छ ।

बिरामी परेकामध्ये ३ जनाको गुल्मी अस्पताल तम्घास, एक जनाको बुटवलस्थित गौतम बुद्ध र अन्य केही व्यक्तिको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी स्वास्थ्य शिविरमा उपचार भइरहेको जिल्ला स्वस्थ्य गुल्मीका निमित्त प्रमुख श्रीकृष्ण भट्टराईले बताए ।

उनका अनुसार झाडापखाला फैलिएको स्थानको पिउने पानी ल्याब टेस्टका लागि ल्याइएको छ । सोही स्थानमै ०७३ साल वैशाख १८ गते जंगलमा पारि लागेको आगो पानीको अभावमा स्थानीयले नियन्त्रणमा लिन नसक्दा वारि दजाकोटमा फैलिएर त्यो पूरै गाउँ खरानीमा परिणत भएको थियो ।

प्रतिकृया दिनुहोस