अधिकारीले देखेका सपना पूरा गर्न अघि बढिरहेका छौँः प्रधानमन्त्री ओली

राजतन्त्र पुनस्थापना र जनयुद्धको तयारी बीचको चुनौती

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने, नेपाल कम्युनिष्ट आन्दोलनलाई विजयको शिखरमा पुर्‍याउने मनमोहन अधिकारीको सपनाअनुसार नै आफ्नो पार्टी अघि बढिरहेको बताएका छन् । 

मनमोहन स्मृति प्रतिष्ठानले शुक्रबार सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उनले सो कुरा बताएका हुन् । 

अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको विचार व्यक्त गर्दै सामाजिक सुरक्षा र कानूनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखनीय काम गरेको पनि बताए ।

उनले अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पु¥याउनुभएको योगदानको चर्चा गर्दै भने, “चुनौतीका बीचमा पनि उहाँले गर्नुभएका काम निकै महत्वपूर्ण थिए ।”     

तत्कालीन नेकपा(एमाले)का अध्यक्ष अधिकारीको शालिकमा माल्यार्पण गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष ओलीले एकातिर राजतन्त्रको शक्ति पुनस्थापना गर्ने चाहना र अर्कातिर जनयुद्धको तयारीबीच अधिकारीले पार्टीको नेतृत्व गर्दा देशमा चुनौती रहेको र उहाँपछिको पार्टी नेतृत्वले पनि ती दुवै चुनौती सामना गरेको भनाइ राखे ।

वर्तमान सरकार अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “विभिन्न कानून निर्माणमार्फत मुलुक संविधानको कार्यान्वयन हुने दिशामा रहेको छ ।”     

सो अवसरमा प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मीदास मानन्धरले नेपालको वाम आन्दोलनमा अधिकारीको भूमिका अनुकरणीय रहेको बताए । कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायतको उपस्थिति रहेको थियो । पूर्वप्रधानमन्त्री अधिकारीको विसं २०५६ वैशाख १३ गने निधन भएको थियो । 

   

प्रतिकृया दिनुहोस