लोकतन्त्र स्थापनाको १३ वर्ष पूरा, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं ।  तत्कालीन माओवादीको सशस्त्र संघर्ष अन्त्यको आधारको रुपमा लिइएको लोकतान्त्रिक जनओन्दोलनबाट देशमा लोकतन्त्र आएको बुधबार १३ वर्ष पुगेको छ । लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिन वैशाख ११ गते बुधबार विभिन्न कार्यक्रमका साथ लोकतन्त्र दिवस मनाइँदैछ ।

विसं २०६२/०६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते संसद पुनःस्थापना भएपछि सम्पन्न भएको थियो । नेपालमा दश वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ ।

यहि आन्दोलनको जगमा तत्कालीन नेकपा (माओवादी) र सरकारबिच विस्तृत शान्ति सम्झौता सम्पन्न भई जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो ।

देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन संविधानसभा मार्फत संविधान निमार्ण र त्यसपछि संघीय व्यवस्था अनुसारको चुनावी यात्रा यही आन्दोलनको उपलब्धि स्वरूप अघि बढे पनि समृद्ध र साँचो अर्थको प्रजातान्त्रिक तथा भ्रष्टाचार मुक्त देश बनाउनु अहिलेको चुनौति हो ।


प्रतिकृया दिनुहोस